Logo
१७ साउन २०८३, आईतबार

सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो : जीवनले मृत्युलाई जितेको उत्सव

अक्षरपाटी
२०८३ साउन १७ , आईतबार ०१:०८ मा प्रकाशित

o अक्षरपाटी विशेष

ललितपुर । ललितपुरको मेजेस्टिक ग्रान्डको मञ्चमा शनिबार एउटा उत्सवमय दृश्य देखियो। फेसन शोजस्तो देखिए पनि यो फेसन प्रदर्शन भने थिएन। त्यहाँ त जीवनले मृत्युसँग विजय हासिल गरेकाहरु र्याम्पमा हिँडिरहेका थिए।

कुनै समय क्यान्सरको पीडाले ओछ्यानमा थलिएका अनुहारहरू आज आत्मविश्वास र गाैरवका साथ र्याम्पमा मुस्कुराइरहेका थिए। तीन वर्षीया बालिकादेखि ८७ वर्षीया हजुरआमासम्म एउटै सन्देश दिन अघि बढिरहेका थिए- ‘क्यान्सर रोग लाग्नु अन्त्य होइन, उपचारपछि जीवन झनै सुन्दर बन्न सक्छ!’

चौथो संस्करणको ‘सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो–२०२६’ एउटा कार्यक्रम मात्र थिएन, यो त नेपाली समाजमा वर्षौंदेखि जरा गाडेर बसेको क्यान्सरप्रतिको डर, त्रास, भ्रम र निराशाविरुद्धको उर्जामय आन्दोलन थियो। क्यान्सरसँग लडेर जितेका विजेताहरूको आत्मविश्वासको उत्सव थियो।

२५ जनाबाट सयौँको यात्रासम्म

नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरकी निर्देशक स्वरूपा श्रेष्ठले सन् २०१९ मा यो अभियानको परिकल्पना गर्दा धेरैलाई असम्भवजस्तै लागेको थियो। रोग लागेको कुरा त लुकाउने समाजमा र्याम्प शोमा पनि सर्भाइभरहरु आउलान् त ? भन्ने शंसय एकातिर थियो, अर्कोतिर आर्थिक चुनौती, सामाजिक पूर्वाग्रह र क्यान्सरप्रतिको त्रास। तर निर्देशक स्वरुपाले हार मानिनन्। पहिलो र्याम्प शोका लागि जसोतसो २५ जना सर्भाइभर जुटाएरै र्याम्प शो सम्पनन् भयो।

सात वर्षपछि दृश्य फेरिएको छ। (बीचमा कोभिडका कारण हुन सकेन) चाैथाे सँस्करणमा आइपुग्दा र्याम्पमा सहभागी हुन चाहने सयौँ सर्भाइभरले इच्छा व्यक्त गरे। तीमध्ये छनोट गरेर करिब एक सय जनालाई मात्रै सहभागी गराउनुपर्ने अवस्था आएको अस्पतालकी डा अञ्जली पण्डितले जानकारी दिइन्। यसले एउटा सन्देश दिन्छ- क्यान्सर जित्नेहरूको संख्या मात्र होइन, उनीहरूको आत्मविश्वास पनि बढिरहेको छ।

यसपटक आयोजित चाैथाे सँस्करणमा र्याम्पमा हिँड्नेहरू एक्ला थिएनन्। उनीहरूसँगै उनीहरूको उपचारमा संलग्न चिकित्सकहरूले पनि हातेमालो गर्दै साथ दिए। यो दृश्यले चिकित्सक र बिरामीबीचको सम्बन्ध केवल उपचारमा सीमित छैन, विश्वास, आँट र जीवनसँग जोडिएको सम्बन्धसम्म सम्बन्धित छ भन्ने सन्देश दिइरहेको थियो।

नेपाल क्यान्सर सपोर्ट ग्रुप र उपचारका लागि सहयोगी हातहरूको संयुक्त आयोजनामा श्रीदीप ग्रुप प्रालिले व्यवस्थापन गरेको कार्यक्रम नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर तथा जनमैत्री अस्पतालको सहकार्यमा सम्पन्न भएको थियो।

चार पटक क्यान्सर जितेकी बबी

नौ महिनाका जुम्ल्याहा शिशु काखमा हुँदा पहिलो पटक क्यान्सर भएको थाहा पाएकी बबी शाक्यको उत्साहले जो कोहीलाई उत्प्रेरणा दिन्छ। जीवनमा चार पटक क्यान्सरलाई पराजित गरिसकेकी उनले उनले अक्षरपाटीसँग २९ वर्षअघिको त्यो दिन सम्झँदै भनिन्- ‘त्यो बेला बिरामी हुँदा सामान्य सिटामोलसमेत सजिलै पाइँदैनथ्यो। मलाई भने क्यान्सर भएको थाहा भयो। आज पनि त्यो क्षण सम्झँदा सपनाजस्तो लाग्छ।’

त्यतिबेला नेपालमा क्यान्सर भनेपछि मानिसहरूले मृत्युसँग दाँज्थे। अस्पताल कम थिए, उपचारका विकल्प सीमित थिए। तर बबीको अनुभव फरक रह्यो।

‘मेरो उपचार त्यतिबेला पनि नेपालमै सम्भव भयो। अहिले त नेपाल क्यान्सर हस्पिटलजस्ता अत्याधुनिक अस्पताल छन्। त्यो बेलाको उपचार र अहिलेको उपचारबीच आकाश–पातालको फरक छ।’

उनका अनुसार उपचारले शरीरको रोग निको पार्छ, तर आत्मविश्वास पुनः जगाउन यस्ता कार्यक्रमको भूमिका झन् ठूलो हुन्छ।

‘उपचारपछि पनि समाजमा निर्धक्क भएर बाँच्न, आफूलाई स्वीकार गर्न र कमजोर र रोगले बिग्रिएको शरिरमा नयाँ ऊर्जा लिएर अघि बढ्न सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हाम्रो जीवनको अभियान बनेको छ’, उनले भनिन्, ‘यो कार्यक्रमले हामीलाई फेरि आत्मसम्मानका साथ बाँच्न सिकाएको छ।’

क्यान्सर सर्भाइभर तथा साहित्यकार शान्ति शर्माका लागि पनि यो कार्यक्रम केवल औपचारिक समारोह थिएन।

उनी भन्छिन्, ‘यो जीवनप्रतिको विश्वास, सकारात्मक सोच र पुनर्जागरणको उत्सव हो। यस्ता कार्यक्रमले क्यान्सरसँग जुधिरहेका बिरामी र सर्भाइभरहरूमा नयाँ आशा, ऊर्जा र जीवनप्रतिको विश्वास जगाइरहन निकै ठूलो भूमिका निर्वाह गरेको छ।’

उपचारसँगै सहयोग पनि

कार्यक्रमले जनचेतना फैलाउनुका साथै विपन्न बिरामीको उपचारका लागि सहयोग जुटाउने उद्देश्य पनि बोकेको छ। सो अवसरमा हिमानी कोषका तर्फबाट केन्द्रीय कार्यकारिणी सदस्य अधिराजकुमारी दिलाशा राज्यलक्ष्मी शाहले एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिन्। अन्य दाताहरूले पनि उपचार सहायता र क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धिका लागि सक्दो आर्थिक सहयोग प्रदान गरे।

मिसेस नेपाल युनिभर्स–२०२६ विजेता तथा नेपालकी पहिलो मोडल डली गुरुङ याक्थुम्बा र चार पटक क्यान्सर जितेकी बबी शाक्यलाई विशेष सम्मान गरिएको थियो। कार्यक्रममा सांसद डा. तोशिमा कार्की, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठ, संयोजक स्वरूपा श्रेष्ठ, लेखक दामोदर पुडासैनीलगायतले क्यान्सरबारे सकारात्मक प्रवचन दिएका थिए।

जीवनलाई उत्सव बनाउने आन्दोलन

नेपालमा आज पनि क्यान्सरको नाम सुन्नेवित्तिकै पीडितको परिवार मात्र होइन समाज नै डराउँछ। कतिपयले अझै उपचारका लागि विदेश नै जानुपर्छ भन्ने भ्रम पालिरहेका छन्। तर शनिबार ललितपुरमा र्याम्पमा हिँडेका दर्जनाैँ अनुहारहरूले एउटै कुरा प्रमाणित गरे- समयमै पहिचान, सही उपचार र सकारात्मक सोच भए क्यान्सर स्वदेशमै जित्न सकिन्छ।

त्यसैले ‘सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो’ अब एउटा वार्षिक कार्यक्रम मात्र होइन। यो निराशामाथि आशाको विजयको घोषणा हो। आँसुमाथि मुस्कानको विजय हो। सबैभन्दा ठूलो कुरा त के भने- जीवनले मृत्युलाई जितेको सार्वजनिक घोषणा हो।

क्यान्सर सर्भाइभर र्याम्प शो निर्देशक स्वरूपा श्रेष्ठ नेपाल क्यान्सर हस्पिटल