Logo
२४ साउन २०८३, आईतबार

‘केही समय लाग्छ, सही समय आउन’ भनेका प्रधानमन्त्रीले सार्वजनिक गरे राष्ट्रिय उद्योगमा सुधारको फेहरिस्त

अक्षरपाटी
२०८३ साउन २३ , शनिबार ११:०८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले लामो समयदेखि बन्द, घाटा वा रुग्ण अवस्थामा रहेका सरकारी स्वामित्वका उद्योग तथा संस्थानमा सुधारका संकेत देखिन थालेको बताएका छन्।

शुक्रबार अबेर राति सामाजिक सञ्जालमार्फत ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन’ भन्दै स्टाटस लेखेका प्रधानमन्त्री शाहले शनिबार बिहान सरकारका पछिल्ला प्रगतिको फेहरिस्त सार्वजनिक गरेका हुन्।

प्रधानमन्त्री शाहले इमान्दार प्रयास, कानुनको कार्यान्वयन र निरन्तरको ‘टिमवर्क’ का कारण केही राष्ट्रिय उद्योगमा आशालाग्दा परिणाम देखिन थालेको बताएका छन्।

वर्षौंदेखि बन्द रहेका, घाटामा चलेका तथा निराशाजनक अवस्थामा पुगेका सरकारी उद्योगलाई पुनर्जीवन दिई प्रतिस्पर्धी बनाउने उद्देश्यले सरकारले सुरुदेखि नै सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको उनको भनाइ छ।

प्रधानमन्त्री शाहले सार्वजनिक गरेको विवरणअनुसार नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा वृद्धि भएको र गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको जनाइएको छ। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ।

सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत नेपाल औषधि लिमिटेडबाट आगामी तीन वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ। चालु आर्थिक वर्षमा ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारका औषधिको उत्पादन तयारी अन्तिम चरणमा पुगेको प्रधानमन्त्री शाहले बताएका छन्। हाल लिमिटेडले ११ प्रकारका औषधि उत्पादन गर्दै आएको छ।

त्यस्तै, लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। उद्योगका तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको र केही मात्रामा कपडा उत्पादनसमेत थालिएको प्रधानमन्त्रीले जानकारी गराएका छन्। परीक्षणपछि उद्योग नेपाल सरकारले सञ्चालन गर्ने तयारी छ।

नेपाल वायुसेवा निगमको वित्तीय अवस्थामा पनि सुधार देखिएको प्रधानमन्त्री शाहको दाबी छ। गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो।

सो अवधिमा निगमको सिट उपयोगिता (अकुपेन्सी) बढेर ८६ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशत बढी हो। जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणबापत १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्तासमेत यही अवधिमा भुक्तानी गरिएको प्रधानमन्त्रीले बताएका छन्।

दुग्ध विकास संस्थान (डीडीसी)मा किसानको दूधको बक्यौता भुक्तानीलाई प्राथमिकता दिइएको जनाइएको छ। यसअघि आठ महिनासम्म पुगेको भुक्तानी चक्रलाई घटाएर दुईदेखि तीन महिनामा झारिएको र करिब ७२ करोड रुपैयाँको बक्यौता ३५ करोड रुपैयाँमा सीमित गरिएको विवरणमा प्रधानमन्त्रीले पेश गरेका छन्। किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ।

सुधारका प्रयासपछि डीडीसीको दैनिक बिक्री ३५ प्रतिशतले बढेको र दैनिक औसत राजस्व ६० लाख रुपैयाँबाट बढेर ९० लाख रुपैयाँ पुगेको दाबी गरिएको छ। कानुनविपरीत विगतदेखि कर्मचारीलाई वितरण हुँदै आएको घ्यू र दूधको सुविधा कटौती गरी वार्षिक करिब ३ करोड रुपैयाँ बचत गरिएको पनि जनाइएको छ।

डीडीसीले खाडी मुलुकमा घ्यू तथा चीनमा बटर र छुर्पी निर्यातको तयारी गरिरहेको छ भने नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गर्ने तयारी भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।

यसैगरी, सिंहदरबार वैद्यखाना विकास समितिले पनि उत्पादन र कारोबारमा सुधार गरेको सरकारको दाबी छ। सरकार गठनपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरिएको र गत आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड रुपैयाँ पुगेको जनाइएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब चार गुणा बढी हो।

हाल वैद्यखानाले १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरिरहेको छ भने चालु आर्थिक वर्षमा उक्त संख्या १५० पुर्‍याउने लक्ष्य राखिएको छ। निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा वैद्यखाना अघि बढिरहेको पनि प्रधानमन्त्री शाहले बताएका छन्।

चालु आर्थिक वर्षमा पाउडर तथा ट्याब्लेट औषधि उत्पादनमा जीएमपी मापदण्ड हासिल गर्ने तथा जडीबुटी र औषधिजन्य कच्चा पदार्थको प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्यसमेत राखिएको छ।

प्रधानमन्त्री शाहले राष्ट्रिय उद्योगको सुधारका लागि इमान्दारिता र देशप्रतिको समर्पण आवश्यक रहेको बताएका छन्। रुग्ण अवस्थामा रहेका अन्य सरकारी उद्योगमा पनि सुधार र पुनर्जीवन सम्भव रहेको विश्वास व्यक्त गर्दै उनले देशभित्र उत्पादन बढाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सरकारको यात्रामा नागरिकको रचनात्मक साथ, सहयोग र विश्वास आवश्यक रहेको बताएका छन्।

प्रधानमन्त्री बालेन शाह