Logo
२२ साउन २०८३, शुक्रबार

ओल्केको संस्कृति जोगाउन ‘ओल्के हेरिटेज राईड’

अक्षरपाटी
२०८३ साउन २२ , शुक्रबार ०६:०८ मा प्रकाशित

धनगढी । सुदूरपश्चिमको मौलिक पहिचान बोकेको ओल्के (त्यार) पर्वको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा सँस्कृति हस्तान्तरण गर्ने उद्देश्यले ‘ओल्के हेरिटेज राईड २०८३’ आयोजना गरिने भएको छ।

फरवेस्टर्न राइडर्सले निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको सहकार्यमा आयोजना गर्न लागेको कार्यक्रम साउन ३० गते शनिबार बिहान ७ बजेदेखि धनगढी, अत्तरिया, महेन्द्रनगर, बेलौरी, पुनर्वास, बर्दगोरिया र डडेल्धुरामा एकैसाथ सञ्चालन हुने छ।

आयोजकले शुक्रबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा यो सामूहिक साइकल यात्रा मात्र नभई सुदूरपश्चिमको सांस्कृतिक सम्पदाको पहिचान, स्वस्थ जीवनशैली, वातावरण संरक्षण र सामाजिक एकतालाई जोड्ने साझा अभियान भएको जनाएको हो।

सम्मान, सद्भाव र कृतज्ञताको पर्व ओल्के

हरेक वर्ष भदौ १ गते सुदूरपश्चिममा मनाइने ओल्के पर्व डोटेली समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा रहेको छ। डोटेली भाषामा ‘ओल्के’ भन्नाले मान्यजनलाई सम्मानपूर्वक भेट्ने, शुभकामना आदान–प्रदान गर्ने तथा आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउने अर्थ दिन्छ।

यो पर्वले ठूलोबडाप्रतिको सम्मान, परिवारबीचको आत्मीयता, समाजमा भाइचारा, प्रकृतिप्रतिको कृतज्ञता तथा नयाँ कृषि मौसमको स्वागत गर्ने सन्देश बोकेको छ। परम्परागत मान्यताअनुसार वर्षायाममा आउने बाढी, पहिरो, महामारीजस्ता प्राकृतिक विपत्तिबाट सुरक्षित रहन सफल भएको खुसी साटासाट गर्दै हरियो सागपात र स्थानीय उत्पादन लिएर आफन्त तथा छिमेकीको घरमा जाने परम्पराबाट ओल्के पर्वको विकास भएको विश्वास गरिन्छ।

यसैगरी पौराणिक मान्यताअनुसार भगवान श्रीकृष्णले राक्षसी पुतनाको वध गरेपछि असत्यमाथि सत्यको विजयको प्रतीकस्वरूप ‘बूढी पोल्ने’ परम्परा सुरु भएको जनविश्वास छ। यसले रोग, अशुभ शक्ति र नकारात्मक सोचको अन्त्य गर्दै सुख, शान्ति र समृद्धिको कामना गर्ने सन्देश दिने विश्वास गरिन्छ।

मौलिक संस्कृति जोगाउने अभियान

आयोजकका अनुसार ओल्के हेरिटेज राईडमार्फत युवापुस्तालाई आफ्नो भाषा, संस्कृति, परम्परा र सम्पदाप्रति गर्व गर्न प्रेरित गर्नुका साथै ‘ओल्के हेरिटेज राईड’ केवल साइकल यात्रा मात्र होइन, यो हाम्रो संस्कृति, सम्पदा, स्वास्थ्य, वातावरण र सामाजिक एकतालाई जोड्ने साझा अभियान हो। आधुनिक पुस्तालाई आफ्नो मौलिक सँस्कृति र पहिचानसँग पुनः जोड्दै सुदूरपश्चिमको गौरवशाली परम्परालाई जीवन्त राख्नु नै यस अभियानको प्रमुख उद्देश्य हो।’

सबैलाई सहभागिताको निम्तो

आयोजकले कार्यक्रममा सहभागी हुने सबैलाई अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा अनुशासित रूपमा सहभागिता जनाउन आग्रह गरेको छ।

साथै राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यम, पत्रकार, फोटो तथा भिडियो पत्रकार, डिजिटल मिडिया, सामाजिक अभियन्ता र सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई सुदूरपश्चिमको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण अभियानलाई सफल बनाउन सहयोग गर्न अपिल गरिएको छ।

ओल्के हेरिटेज राईड निसर्ग हस्पिटल