


एक समय थियो, जुनबेला यो दरबार केवल एउटा भवन थिएन, खैरालाको परिचय थियो। राजकाज गर्नेहरुको शक्ति केन्द्र थियो। अहिले त्यही परिचय आफ्नै अस्तित्व जोगाउनै नसक्ने अवस्थामा छ। संरक्षणको याचना गरिरहेको छ- यो माैन र निर्जिव दरबार!
गर्भा दरबार आज एउटा भग्नावशेष मात्र होइन, हाम्रो सम्पदा संरक्षणप्रतिको नजरियाको ऐना हो। हामी विकासका नयाँ संरचना बनाउन व्यस्त छौँ तर इतिहासका पुराना संरचनाहरू बचाउन भने चुकिरहेका छौँ।
० शिवराज योगी
कैलाली। कुनै देश होस वा देशभित्रको स्थान विशेष! उसको समृद्धिको पहिचान अग्ला भवन, फराकिला सडक वा अत्याधुनिक पूर्वाधारले मात्र बनेको हुँदैन। कतिपय स्थानविशेषको पहिचान र समृद्धि त्यहाँ अवस्थित ऐतिहासिक सम्पदा, पुरातात्विक धरोहर र सांस्कृतिक सम्पदाले निर्माण गरेको हुन्छ।
जब ती सम्पदा हराएर जान्छन् अनि त्यस स्थानको परिचय नै नामेट हुने खतरा रहन्छ। यस्तै खतराको बिन्दूमा पुगेको छ साविक खैराला गाविस अर्थात नयाँ नेपालको चुरे ४ खैराला। खैराला आज पनि सुगम जिल्ला कैलालीभित्र समेटिएर रहेको विकट पहाडी जीवनको विम्ब हो। याे कैलालीकाे ‘कर्णाली’ बनेर नेपालको मानचित्रमा आज पनि संघर्षको जीवन बाँचिरहेको छ। राजनीति गर्नेहरुका लागि यो झुटको खेती रोप्ने उर्वर भूमि हो।
तर यहाँ गर्व गर्नलायक एउटा इतिहास थियो, त्यो हाे यहाँ अवस्थित राणाकालीन ‘गर्भा दरबार’। विडम्बना अविरल वर्षापछि गर्भा दरबारको अर्को भित्ता यसपालि पनि ढालिदिएको छ। भित्तासँगै फेरि एउटा प्रश्न जन्मिएको छ- के इतिहास मेटिनका लागि बनेको हुन्छ ? इतिहासक के प्राकृतिक विपत्तिले मात्रै नष्ट हुन्छ, वा राज्यको बेवास्ताले पनि?
नेपालमा सडक बन्छन्, पुल बन्छन्, नयाँ भवन ठडिन्छन्। विकासका योजनामा हरेक वर्ष अर्बौं रुपैयाँ खर्च गरिन्छ। तर त्यही विकासको यात्रामा हामीसँगै रहेका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदाहरू भने संरक्षणको अभावमा बिस्तारै मेटिँदै गएका छन्। कैलालीको चुरे गाउँपालिका–४ (साविक खैराला–३) मा अवस्थित राणाकालीन गर्भा दरबार पनि आज त्यही नियतिको जीवित उदाहरण बनेको छ।
एक समय थियो, जुनबेला यो दरबार केवल एउटा भवन थिएन, खैरालाको परिचय थियो। राजकाज गर्नेहरुको शक्ति केन्द्र थियो। अहिले त्यही परिचय आफ्नै अस्तित्व जोगाउनै नसक्ने अवस्थामा छ। संरक्षणको याचना गरिरहेको छ- यो माैन र निर्जिव दरबार!
इतिहास
बुज्रुकहरुका अनुसार विक्रम संवत् १९८१ सालमा खडकशमशेर जबराले निर्माण सुरु भएको गर्भा दरबार १९८६ सालमा सम्पन्न भएको थियो। तत्कालीन प्रशासनिक आवश्यकता, प्राकृतिक सुन्दरता, अनुकूल मौसम र रणनीतिक भूगोललाई ध्यानमा राखेर कैलालीको पहाडी भूभागमा निर्माण गरिएको यो दरबार त्यस समयको उत्कृष्ट वास्तुकलाको नमुना मानिन्छ। बडेमानका ढुंगा, काठ र कलकत्ताबाट हेलिकोप्टरमा आयात गरिएका रंगिबिरंगी टिन प्रयोग गरेर बनाइएको दरबारमा ८३ वटा झ्याल, ५३ वटा ढोका र भूमिगत संरचनासमेत बनाइएको थियो।
यो दरबार निर्माणमा तत्कालीन डोटी र अछामबाट तराई झर्ने हटेरु (पैदल यात्रु)हरूको श्रम र परिना मिसिएको थियो। सयौं मानिसको पसिनाले उभिएको यो दरबार राणा परिवारको मात्र सम्पत्ति थिएन, त्यो समयको सामाजिक, प्रशासनिक र सांस्कृतिक इतिहासको साक्षी पनि हो।
‘राणा शासनकालमा चौमालास्थित दरबारबाट राणाहरू सेतो घोडा चढेर गर्भा दरबारमा बास बस्न आउँथे। त्यहाँबाट निरौली हुँदै दिपायलसम्म यात्रा गर्ने गर्थे। गाउँमा उनीहरूको आगमनसँगै चहलपहल बढ्थ्यो। स्थानीयहरू आदेश पालन गर्न जुट्थे। दरबारको आँगनमा मानिसहरूको आउजाउ हुन्थ्यो। तर २०३२ सालपछि त्यो चहलपहल विस्तारै हरायो। दरबार सुनसान बन्दै गयो, र समयसँगै इतिहास अस्ताउँदै गयो’, स्थानीय बुज्रुक खडकसिंह रजबारले सुनाए।
२०५५ साल गर्भा दरबारका लागि दुर्भाग्यपूर्ण मोड बन्यो। वर्षा र हुरीले दरबारको अगाडिको कलात्मक पर्खाल भत्काइदियो। सिंह, बाघ, जरायो लगायतका जनावरका आकर्षक आकृतिले सजिएको भाग गर्ल्यामगुर्लुम ढल्यो। त्यसयता हरेक वर्ष वर्षातसँगै दरबारका कुनै न कुनै भाग भत्किने क्रम जारी छ।
यस वर्षको लगातारको वर्षाले फेरि अर्को भित्ता ढालिदियो। स्थानीय दुर्गा कँडेल भन्छन्, ‘अब समयमै संरक्षण भएन भने केही वर्षमै दरबारको नामसँगै खैरालाको परिचय पनि मेटिनेछ।’ यहाँका बासिन्दाको चिन्ता केवल एउटा भवन भत्किएकोमा छैन, एउटा पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्ने इतिहास हराउने चिन्ता हो।
विडम्बना के भने, दरबारको संरक्षणका लागि जिम्मेवार निकायहरूबीच जिम्मेवारीबोध छैन स्थानीयहरूका अनुसार न स्थानीय सरकारले प्रभावकारी पहल गर्न सकेको छ, न प्रदेश सरकारले। बरु प्रदेश सरकारले संरक्षणका नाममा १० लाख रुपैयाँ बजेट छुट्याएर दरबारको हकभाेगकै जमिन बाहिर पारेर पर्खाल निर्माण गर्दा विवाद चर्किएको थियो। स्थानीयको आरोप छ- संरक्षणको नाममा गरिएको त्यो कामले दरबार जोगाएन, केवल कार्यकर्ताको पालनपोषण भयो।
पुरातत्व विभागले ध्यानाकर्षण भएको जनाए पनि व्यवहारमा भने कुनै कदम नचालेकाे स्थानीय सरकारकै गुनासो छ। गाउँपालिकाले पहल नगरेको होइन, तर यति ठूलो ऐतिहासिक सम्पदाको संरक्षण गर्ने आर्थिक क्षमता स्थानीय तहसँग हुँदैन। पुरातात्विक सम्पदामा कानुनी जटिलताका कारण स्थानीय सरकारले स्वतन्त्र रूपमा काम गर्न पनि सहज छैन। यही अन्योलले गर्भा दरबारलाई झन् असुरक्षित बनाएको छ।
पुरातत्व विभागले ध्यानाकर्षण भएको जनाए पनि व्यवहारमा भने कुनै कदम नचालेकाे स्थानीय सरकारकै गुनासो छ। चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटी स्थानीय तहको सीमितता स्वीकार्छन्।
उनका अनुसार गाउँपालिकाले पहल नगरेको होइन, तर यति ठूलो ऐतिहासिक सम्पदाको संरक्षण गर्ने आर्थिक क्षमता स्थानीय तहसँग हुँदैन। पुरातात्विक सम्पदामा कानुनी जटिलताका कारण स्थानीय सरकारले स्वतन्त्र रूपमा काम गर्न पनि सहज छैन। यही अन्योलले गर्भा दरबारलाई झन् असुरक्षित बनाएको छ।
गर्भा दरबारको इतिहास केवल राणा शासनसँग जोडिएको छैन। यसको स्वामित्व परिवर्तनको कथा पनि रोचक छ। राणा परिवारका सदस्य कोहिनुर शमशेर राणाले २०४२ साल जेठ ११ गते दरबारसहितको करिब १० रोपनी १३ आना जग्गा तत्कालीन खैराला गाउँपञ्चायतलाई दान दिएका थिए। पछि त्यसको केही भाग विद्यालयको नाममा हस्तान्तरण भयो। समयसँगै दरबार क्षेत्रको केही भाग अतिक्रमणमा परेको स्थानीयहरू बताउँछन्।
एक समय ‘दरबार भएको गाउँ’ भनेर चिनिएको खैरालाले आफ्नो पहिचान यही दरबारबाट पाएको थियो। स्थानीयका अनुसार २०५५ सालमा ‘मातृसन्देश’ अर्धसाप्ताहिकले पहिलोपटक गर्भा दरबारबारे विस्तृत सामग्री प्रकाशित गरेपछि खैराला आम रुपमा परिचित बनेको थियो। तर आज त्यही पहिचान दिने ‘दरबार’ आफैं संकटमा छ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्भा दरबारलाई पुरातात्विक सम्पदाको सूचीमा सूचीकृत गरिसकिएको र यसको संरक्षणमा सरकार गम्भीर रहेको सार्वजनिक रूपमा बताए। त्यो घोषणा स्थानीयका लागि आशाको किरण बनेको थियो। तर वर्षौं बितिसक्दा पनि संरक्षणको काम सुरु समेत हुन सकेको छैन। त्यसैले स्थानीयहरू आज पनि प्रश्न गर्छन्- संरक्षणका लागि भनिएको बजेट कहाँ गयो? घोषणा व्यवहारमा किन लागु भएन?
गर्भा दरबार आज एउटा भग्नावशेष मात्र होइन, हाम्रो सम्पदा संरक्षणप्रतिको नजरियाको ऐना हो। हामी विकासका नयाँ संरचना बनाउन व्यस्त छौँ तर इतिहासका पुराना संरचनाहरू बचाउन भने चुकिरहेका छौँ।
गर्भा दरबार आज एउटा भग्नावशेष मात्र होइन, हाम्रो सम्पदा संरक्षणप्रतिको नजरियाको ऐना हो। हामी विकासका नयाँ संरचना बनाउन व्यस्त छौँ तर इतिहासका पुराना संरचनाहरू बचाउन भने चुकिरहेका छौँ।
गर्भा दरबारको चर्किएको भित्ताले आज पनि एउटा अनुत्तरित प्रश्न गरिरहेको भान हुन्छ- हामी इतिहासको संरक्षण गर्नेछौँ कि, इतिहासका यस्ता अन्तिम साक्षीहरुलाई ढलेको टुलुटुलु हेर्ने रमिते बन्नेछाैँ ?
https://aksherpati.com/2023/02/4545/ https://aksherpati.com/2025/06/15614/ https://aksherpati.com/2025/07/16266/
खैराला दरबार गर्भा दरबार पुरातत्व विभाग शिवराज योगी

