Logo
१८ वैशाख २०८१, मंगलबार

नेकपा एसद्धारा नाउपाका चौधरीलाई दिएको समर्थन फिर्ता, मुख्यमन्त्रीमा आफ्नै दाबी

अक्षरपाटी
२०८१ वैशाख ४ , मंगलबार ०४:०४ मा प्रकाशित

धनगढी,४ वैशाख । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिममा मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियाँसमक्ष मंगलबार दिउँसो समर्थन फिर्ताको पत्र पेस गरेका हुन् ।

सत्ता गठबन्धनका नेताहरू सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी भएपछि यसअघि एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले पेस गरेको दाबीमा गरेको समर्थन फिर्ता लिइएको हो । आइतबार मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका दुई जना सांसदको दाबी पेस भएपछि प्रदेश प्रमुखले कानुनी परामर्श गर्ने भन्दै निर्णय दिएका थिएनन् ।

यसअघि आइतबार केन्द्रीय सत्ता गठबन्धनका नेताहरूले आफ्नो पार्टीलाई मुख्यमन्त्री नदिने भएपछि सुदूरपश्चिमको एकीकृत समाजवादीले विद्रोह गर्दै कांग्रेस, राप्रपासहित नागरिक उन्मुक्तिका रेशम पक्षधर सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा अगाडि सारेका थिए ।

अब एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी गर्ने भएका छन् ।

सुदूरपश्चिम