Logo
२२ वैशाख २०८१, शनिबार

भोलीदेखि कक्षा १२ को परिक्षा, अनलाइनबाटै प्रश्नपत्र पठाइने

अक्षरपाटी
२०८१ वैशाख १३ , बिहीबार १०:०४ मा प्रकाशित

काठमाडौं,१३ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले भोलि शुक्रबारदेखि सुरु हुने कक्षा १२ परीक्षाका लागि प्रश्नपत्र अनलाइनबाट पठाउने भएको छ । अनलाइनबाट पठाउँदा सुरक्षाका दृष्टिकोणले गत वर्षभन्दा सावधानी अपनाउने बोर्डले जनाएको छ । कोभिड पछि यसरी नै प्रश्नपत्र पठाइने गरेको छ ।

इमेलबाट प्रश्नपत्र पठाउँदा टाइम पासवर्डको व्यवस्था गरिएको बोर्डले जनाएको छ । केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र परीक्षामा खटिने केन्द्राध्यक्षको रोहबरमा मात्रै प्रश्नपत्र परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा पहिले प्रिन्ट गर्न निर्देशन दिइएको छ ।

कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुनेछन् । बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थीले परीक्षा दिनेछन् ।

परीक्षामा ३४ हजार १ सय ७१ जनशक्ति खटिँदै छन् भने १८ हजार ३ सय प्रहरी परिचालन हुने बोर्डले जनाएको छ । उत्तरपुस्तिका सहित परीक्षा सामग्री केन्द्रमा पुगिसकेको बोर्डले जनाएको छ ।

७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ परिक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ ।