काठमाडौं,९ साउन । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा आज (बुधबार) रातिदेखि शुक्रबार रातिसम्म भारी वर्षाको सम्भावना छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा विहीबार बिहानदेखि शुक्रबार बिहानसम्म भारी वर्षाको सम्भावना छ । शुक्रबारको दिन बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याइएको छ ।
महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा सो सम्भावनाबारे उल्लेख छ ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । त्यसैले देशैभर साधारणतया बदली छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा अहिले वर्षा भइरहेको छ ।