


धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संरचनागत सुधारसँगै राज्यका सबै अंगलाई योजनागत रूपमा सबलीकरण गर्नुपर्ने धारणा राखेका छन्।
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको जिल्ला समन्वय समितिका पदाधिकारीहरूसँग स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली सम्बन्धी कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले राज्यका संरचना बलियो भए मात्रै प्रदेश र देश बलियो बन्ने बताए।
उनले प्रदेश र देशको विकासका लागि राज्यका सबै संरचनालाई प्रभावकारी र सक्षम बनाउन आवश्यक रहेको उल्लेख गरे। आर्थिक तथा प्रभावकारिताको दृष्टिकोणले जिल्ला समन्वय समितिलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री भट्टले प्रदेशले निर्वाह गर्नुपर्ने दायित्व पूरा गर्न आफू सधैँ तत्पर रहेको बताए।
मुख्यमन्त्री भट्टले सुशासन, वैज्ञानिक सोच र दृष्टिकोणमा आधारित सेवा प्रवाहमार्फत नागरिकलाई प्रभावकारी सेवा तथा विकासको अनुभूति दिलाउन प्रदेश सरकार अघि बढिरहेको बताए।
कृषि, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सुदूरपश्चिमलाई समृद्ध बनाउने दिशामा प्रदेश सरकार अघि बढिरहेको दाबी गर्दै उनले विकास र समृद्धिको अभियानमा सबै पक्षलाई सक्रियतापूर्वक लाग्न आग्रह गरे।
स्थानीय तह तथा जिल्ला समन्वय समितिको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन LGPAS प्रणाली महत्वपूर्ण हुने बताउँदै उनले यसको प्रभावकारी कार्यान्वयनमा सम्बन्धित सबै पक्षको भूमिका आवश्यक रहेको बताए।
मुख्यमन्त्री खगराज भट्ट

