Logo
२ असोज २०८१, बुधबार

प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या, भारतमा ३ लाख डाक्टर हडतालमा

अक्षरपाटी
२०८१ साउन २८ , सोमबार ०३:०८ मा प्रकाशित

कोलकाता ,२८ साउन । भारतको कोलकातास्थित राधागोविन्द कर मेडिकल कलेज तथा अस्पतालमा गत अगस्त ८ मा एक प्रशिक्षार्थी डाक्टरको अर्धनग्न शव फेला परेको थियो । प्रहरीका अनुसार ती डाक्टरको बलात्कारपछि हत्या गरिएको हो ।

घटनालाई लिएर सोमबार देशभरका रेजिडेन्ट डाक्टरहरू हडतालमा उत्रिएका छन् । एम्स दिल्लीसहित देशभरका सबै सरकारी अस्पतालमा ओपिडी सेवा प्रभावित भएका छन् । यद्यपि, इमर्जेन्सी सेवा भने सुचारु रहेका छन् ।

अल इन्डिया रेजिडेन्ट डाक्टर्स एसोसिएसनका महासचिव डा।सर्वेश पाण्डेले स्वास्थ्य सचिवसँग घटनाबारे सीबीआईले छानबिन गर्नुपर्ने तथा डाक्टरहरूको सुरक्षाका लागि सेन्ट्रल प्रोटेक्सन एक्ट लागू गर्न माग गरिएको जानकारी दिए । यस विषयमा लिखित सम्झौता नभएसम्म हडताल जारी राख्ने उनले बताए ।

यसैबिच मुख्यमन्त्री ममता बेनर्जी सोमबार बिहान दिवङ्गत प्रशिक्षार्थी डाक्टरको घरमा पुगेकी थिइन् । उनले १८ अगस्तसम्म प्रहरीले हत्यारा पत्ता लगाउन नसके यस केसलाई सीबीआईलाई हस्तान्तरण गरिने जानकारी दिइन् । उनले यो मुद्दा फास्ट ट्रयाक कोर्टबाट अघि बढाइने पनि उल्लेख गरिन् ।

प्रहरीले यस घटनामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सञ्जय राय रहेका छन् । उनले नै अस्पतालको पछाडि गएर रक्सी पिएर डाक्टरको बलात्कार र हत्या गरेको प्रहरीको भनाई छ । हत्यापछि घर गएर उनले प्रमाण मेटाउन कपडा धोएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको जुत्तामा खुनको दाग देखिएको छ । प्रहरीले घटनाको विषयमा सो रात ड्युटीमा रहेका ३ डाक्टर र १ स्टाफसँग सोधपुछ गरेको छ । घटनापछि मेडिकल कलेजका प्रिन्सिपल डा।सन्दीप घोषले राजीनामा दिएका छन् । –दैनिक भास्कर