काठमाडौं,१६ भदौ । पठाओ पार्सलले एक महिनासम्म नेपालभर १ रुपैयाँमै सामान डेलिभरी गर्ने भएको छ । व्यवसायहरूले ‘पठाओ पार्सल डेलिभरी महोत्सव’ अन्तर्गत आजदेखि १४ असोजसम्म यो सेवा पाउने भएका छन् ।
काठमाडौं उपत्यकाका साना-ठूला सबै व्यवसायलाई नेपालभर पुर्याउने उद्देश्यले एक महिने ‘पठाओ पार्सल डेलिभरी महोत्सव’ सुरु गरिएको पठाओ नेपालको मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताइन् ।
पठाओले हाल नेपालका ३०० भन्दा बढी स्थानमा पार्सल डेलिभरी सेवा दिँदै आएको छ । हमालका अनुसार काठमाडौंका असन, न्यूरोड, कालिमाटी, बनस्थली, कुलेश्वर र चाबहिलमा कपडा, फेसन, कस्मेटिक, एक्सेसरिज, ग्याजेटलगायत व्यवसाय तथा ग्राहकलाई महोत्सवबारे जानकारी गराइएको छ ।
पठाओ पार्सलबाट काठमाडौं उपत्यकामा २४ घण्टाभित्र, उपत्यकाबाहिरका मुख्य सहरमा दोस्रो दिन र अन्य स्थानमा तीन दिनभित्र सामान डेलिभरी भइसक्ने पठाओले जनाएको छ ।
नेपालका सबैजसो प्रमुख सहरमा आफ्नै नेटवर्क रहेकाले पठाओ पार्सल देशकै सबैभन्दा ठूलो डेलिभरी कम्पनी भएको हमालको दाबी छ ।