काठमाण्डौ । त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा प्रवाह गर्न शुरू गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ ।
रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतमा रहेको चिलिमे हब सबस्टेशनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा रहेको त्रिशूली थ्री बी हब सबस्टेशनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माणका अन्तिम चरणका कामहरू भइरहेका छन् ।
प्रसारण लाइन निर्माणका बाँकी कामहरू सम्पन्न गरी दशैँ अगाडि नै सञ्चालनमा ल्याउने गरी निर्माण धमाधम भइरहेको छ । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै २२०/१३२/३३ केभीका चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेशन निर्माण सम्पन्न भइसकेका छन् ।
प्रसारण लाइनमा पर्ने ७६ वटा टावरमध्ये ७५ वटाको निर्माण सम्पन्न भएको छ । एउटा टावर जडान कार्य अन्तिम चरणमा छ । २८ किलोमिटर प्रसारण लाइनमध्ये पाँच किलोमिटर मात्र तार तान्न बाँकी छ । टावर जडान र बाँकी रहेको तार तान्न झन्डै २ सय जना श्रमिक परिचालित छन् ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायत सम्मिलित उच्चस्तरीय टोलीले हिजो प्रसारण लाइन निर्माण कार्यको स्थलगत अनुगमन गरी दशैँअघि नै काम सक्ने समयसीमा तय गरेको छ ।