काठमाडौँ । भारतको दिल्ली राज्यको नयाँ मुख्यमन्त्री आतिशी बन्ने भएकी छिन् । मुख्यमन्त्री अरविन्द केजरीवालको राजीनामापछि आतिशी नयाँ मुख्यमन्त्री बन्ने भएकी हुन् ।
आम आदमी पार्टीको मंगलबार बसेको विधायक दलको बैठकले आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । आम आदमी पार्टीका सांसद गोपाल रायले विधायक दलको बैठकले सर्वसम्मत रूपमा आतिशीलाई मुख्यमन्त्रीका रूपमा अघि सारिएको बताए ।
मुख्यमन्त्री केजरीवाल जेलमा रहेका बेला आतिशीले सरकारको मुख्य ‘पोर्टफोलियो’ सम्हालेकी थिइन् । शिक्षासमेत मुख्य विभाग सम्हालेकी आतिशीलाई केजरीवालको विश्वासपात्रका रूपमा हेरिन्छ । केजरीवालले केही बेरमा दिल्लीका उपराज्यपाल भीके सक्सेनासमक्ष राजीनामा बुझाउने बताइएको छ ।
अरविन्द केजरीवाल सेप्टेम्बर १३ मा सर्वोच्च अदालतको आदेशपछि रिहा भएका थिए । उनले सेप्टेम्बर १५ मा पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका थिए । केजरीवालले फेब्रुअरीमा महाराष्ट्र राज्यसँगै चुनाव गराउनुपर्नेसमेत माग गरेका छन् ।
केजरीवाल कथित मदिरा भ्रष्टाचार प्रकरणमा जेल परेका थिए ।