Logo
२ कात्तिक २०८१, शुक्रबार

अबको १० वर्षपछि राज्यले वृद्धभत्ता दिन नसक्ने : स्वास्थ्यमन्त्री

अक्षरपाटी
२०८१ असोज २ , बुधबार ०१:०९ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताउनुभएको छ ।

बुधबार ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औं गणेशमान सिंह स्मृति दिवसमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मान्छेलाई रोग लाग्न नदिने कुरामा बढी जोड दिनुपर्ने बताउनुभयो । उहाँले अहिले समाज को मान्छे बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिए जस्तो देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अब १० वर्षपछि राज्यले वृद्धभत्ता दिनै सक्दैन । त्यसैले मान्छेलाई रोग लाग्न नदिने कुरामा हामीले केही गर्न जरुरी छ । खाद्य स्वास्थ्यको मुख्य विषय हो । तर त्यो स्वास्थ्यसँग जोड्न सकिरहेको छैन । क्यान्सर किन भयो, किड्नीमा समस्या किन आयो ? हामीले के खाइरहेका छौँ, हाम्रो फुड ह्याबिट कस्तो छ ? खाने वस्तु कस्तो छ र ? कति खाइरहेका छौँ ? चाहिने जति छ की, धेरै खाइरहेका छौँ, थोरै खाइरहेका छौँ की ? थोरै खानु पनि समस्या हो, धेरै खानु पनि समस्या हो ।’’

मन्त्री पौडेलले उपचारात्मक पद्धतिमा केही कुरा भइरहेको र चासो पनि बढेको उल्लेख गर्नुभयो । उहाँले निरोधात्मक पद्धतिमा कसैले पनि चासो नदेखाएको बताउनुभयो । उहाँले यस्तै रुपमा अघि बढ्ने हो भने नेपालमा अबको २० वर्षभित्र ५० वर्षभन्दा माथिको सङ्ख्या बढी हुने दाबी गर्नुभयो । खाद्य स्वास्थ्यको मुख्य विषय भए पनि स्वास्थ्यसँग जोड्न नसकिएको बताउनुभयो ।