काठमाडौं । नेपाली सेनाले विभिन्न कार्यक्रम गरी २६२ औं सेना दिवस मनाएको छ। सेना दिवसको अवसरमा बुधबार सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो। समारोहको प्रमुख अतिथिका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी थिए।
सो अवसरमा सैनिक मञ्चमा परेड,तोप बढाइ,कवाजलगायत विविध सांस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो। नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ ।
सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरले पुष्पवृष्टि गर्नाका साथै सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो । सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो ।
नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन भएको थियो।