Logo
५ असोज २०८३, सोमबार

‘जति छिटो पहिचान, उति सहज निदान’ : मन्त्री बादी

अक्षरपाटी
२०८३ असोज ५ , सोमबार ०१:०९ मा प्रकाशित

अल्जाइमर्स तथा डिमेन्सियाको प्रारम्भिक पहिचान, उपचार र हेरचाहमा जोड

काठमाडौं, ५ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले अल्जाइमर्स तथा डिमेन्सियाजस्ता रोगको प्रारम्भिक पहिचान, समयमै उपचार र हेरचाहलाई प्राथमिकतामा राखेकी छन्।

विश्व अल्जाइमर्स दिवस २०२६ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले डिमेन्सियाका प्रारम्भिक संकेत र लक्षणबारे समयमै जानकारी राख्न, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचारमा ढिलाइ नगर्न र प्रभावित व्यक्तिप्रति सम्मानपूर्ण व्यवहार गर्न सबैमा आग्रह गरेकी हुन्।

यस वर्षको विश्व अल्जाइमर्स दिवस’जति छिटो हुन्छ ज्ञान, उति सहज निदान : महत्वपूर्ण छ डिमेन्सियाको पहिचान’ भन्ने नारासहित मनाइँदैछ।

मन्त्री बादीले नेपालको जनसङ्ख्यामा ज्येष्ठ नागरिकको संख्या क्रमशः बढ्दै गइरहेको अवस्थामा अल्जाइमर्स तथा डिमेन्सियाको चुनौती पनि थप महत्वपूर्ण बन्दै गएको उल्लेख गरेकी छन्।

यसको प्रभावकारी सम्बोधनका लागि रोग लागेपछि मात्र उपचार खोज्नेभन्दा प्रारम्भिक चरणमै पहिचान गर्ने संस्कार विकास गर्नुपर्ने उनको भनाइ छ।

उनले स्वस्थ जीवनशैली, सन्तुलित खानपान, नियमित शारीरिक तथा मानसिक सक्रियता र समयमै स्वास्थ्य परीक्षणमा ध्यान दिन आग्रह गरेकी छन्।

डिमेन्सियाबाट प्रभावित व्यक्तिलाई रोगकै आधारमा विभेद, उपेक्षा वा हेयभाव गर्न नहुनेमा जोड दिँदै उनले उनीहरूको आत्मसम्मान, अधिकार र सामाजिक सहभागिता सुनिश्चित गर्नु परिवार, समुदाय र राज्यको साझा दायित्व भएको बताएकी छन्।

‘रोगसँगै व्यक्तिलाई पनि बुझ्नुपर्छ’

मन्त्री बादीले अल्जाइमर्स तथा डिमेन्सियालाई केवल स्वास्थ्य समस्याका रूपमा मात्र नहेरी प्रभावित व्यक्ति र परिवारको सामाजिक तथा भावनात्मक अवस्थालाई समेत ध्यान दिनुपर्ने बताएकी छन्।

प्रभावित व्यक्तिको हेरचाहमा परिवारको भूमिका महत्वपूर्ण भए पनि दीर्घकालीन हेरचाहको भार परिवारमा मात्र सीमित गर्न नहुने उनको सन्देश छ। सरकार, स्थानीय तह, स्वास्थ्य संस्था, समुदाय तथा सम्बन्धित संघसंस्थाबीच सहकार्य र समन्वयबाट मात्रै डिमेन्सियाबाट प्रभावित नागरिकका लागि सुरक्षित, सम्मानजनक र सहयोगी वातावरण निर्माण गर्न सकिने उनले उल्लेख गरेकी छन्।

मन्त्री बादीले विपद्का समयमा ज्येष्ठ नागरिकको सुरक्षा, संरक्षण र सम्मानलाई विशेष प्राथमिकता दिनुपर्नेमा समेत जोड दिएकी छन्। यस वर्ष भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण ज्येष्ठ नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले प्रभावित तथा घाइते ज्येष्ठ नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।

बाढी प्रभावित ज्येष्ठ नागरिकका लागि उद्धार, राहत, पुनःस्थापना, स्वास्थ्य सेवा तथा मनोसामाजिक सहयोगलगायतका कार्यमा मन्त्रालयले सम्बन्धित निकाय र सरोकारवालासँग निरन्तर समन्वय तथा सहकार्य गर्ने प्रतिबद्धता पनि मन्त्री बादीले व्यक्त गरेकी छन्।

उनले विपद्का समयमा ज्येष्ठ नागरिकको शारीरिक अवस्थासँगै उनीहरूको मानसिक र सामाजिक आवश्यकतालाई समेत सम्बोधन गर्नुपर्ने बताएकी छन्।

मन्त्री बादीले अल्जाइमर्स तथा डिमेन्सियाबारे समाजमा रहेको भ्रम र हिचकिचाहट हटाउँदै प्रारम्भिक पहिचान र उपचारलाई सहज बनाउनुपर्नेमा जोड दिएकी छन्।

अल्जाइमर्स डिमेन्सिया

ट्रेन्डिङ ( साप्ताहिक )