काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० सिरिजमा नेपालले कुवेतलाई पराजित गरेको छ । सिरिजमा यो नेपालको लगातार दोस्रो जित हो । यसअघि नेपालले बुधबार कतारलाई ८ विकेटले पराजित गरेको थियो ।
कुवेतले दिएको १८६ रनको लक्ष्य पच्छ्याएको नेपालले ७ बल बाँकी छँदै ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले उत्कृष्ट इनिङ खेले । कुशलले ५० बलमा ६ चौका र ६ छक्काको मदतमा ८१ रन बनाए । आसिफले ३८ बलमा ४ छक्काको मद्दतमा ५३ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १२ बलमै ३१ रन जोडे गुलसन झाले ३ बल खेलेर २ चौकाको हान्दै नेपालको जित सुनिश्चित गरे ।
टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धातिर २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन जोडेको थियो । कुवेतका ओपनर क्लिन्टो एन्टोले ४१ रन जोडे । यसैगरी अर्का ओपनर रविजा सन्दारुवानले २६ रन, मित भावासरले ३५ रन, विलाल ताहिरले ३२ रन, कप्तान मोहम्मद अस्लामले १७ रन बनाए ।
नेपालका सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट तथा कुशल भुर्तेल र ललित राजवंशीको नाममा एकएक विकेट रह्यो ।
हङकङ टी–२० सिरिज