Logo
१७ कात्तिक २०८३, मंगलबार

भूमिहीन नागरिकको बस्तीमा मन्त्री रावल, लालपुर्जा वितरण प्रक्रिया तीव्र बनाउने प्रतिबद्धता

अक्षरपाटी
२०८३ कात्तिक १७ , मंगलबार ०१:११ मा प्रकाशित

झापा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले झापाको बुद्धशान्ति नगरपालिका–४ स्थित भूमिहीन नागरिकको बस्तीमा पुगेर स्थानीयसँग प्रत्यक्ष भेटघाट गरेकी छन्।

बस्तीमा पुगेर मन्त्री रावलले भूमिहीन नागरिकका समस्या, गुनासा र अपेक्षाबारे प्रत्यक्ष जानकारी लिएकी हुन्। भेटघाटका क्रममा स्थानीयले लामो समयदेखि भोग्दै आएका भूमिसम्बन्धी समस्या तथा लालपुर्जा प्राप्तिमा देखिएका कठिनाइबारे मन्त्रीसमक्ष आफ्ना धारणा राखेका थिए।

स्थानीयका गुनासा सुनेपछि मन्त्री रावलले भूमिहीन नागरिकका समस्या समाधानका लागि भइरहेको पहल तथा आगामी कार्ययोजनाबारे जानकारी गराइन्। उनले भूमिहीन नागरिकलाई आवश्यक प्रक्रिया पूरा गरी छिटोभन्दा छिटो जग्गाको स्वामित्व दिलाउनेतर्फ सरकार केन्द्रित रहेको बताइन्।

लामो समयदेखि भूमिसम्बन्धी समस्या झेलिरहेका नागरिकको समस्या समाधान गर्दै लालपुर्जा वितरण प्रक्रियालाई तीव्रताका साथ अघि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।

मन्त्री रावलले नागरिकका समस्या कागजमा मात्र सीमित नराखी स्थलगत रूपमा बुझेर समाधानतर्फ अघि बढ्नुपर्नेमा जोड दिइन्। भूमिहीन नागरिकको समस्या समाधान सरकारको प्राथमिकतामा रहेको भन्दै उनले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी प्रक्रिया अघि बढाउने बताइन्।

मन्त्री बस्तीमै पुगेर प्रत्यक्ष रूपमा समस्या सुनेपछि स्थानीय भूमिहीन नागरिकले आफ्ना समस्या समाधान हुने अपेक्षा व्यक्त गरेका छन्।

झापा मन्त्री प्रतिभा रावल

ट्रेन्डिङ ( साप्ताहिक )