काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबरालाई रिहा गर्ने निर्णय गरेको छ ।
सरकारले उपचारका लागि भन्दै जबरालाई रिहा गर्ने निर्णय गरेको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ । काठमाडौंको तीनकुनेमा २ जनाको ज्यान जाने गरी गत चैत १५ गते भएको राजावादीको प्रदर्शनपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर जबरासहित पक्राउ परेका थिए ।
आन्दोलनका नाममा अराजक गतिविधि गरेको आरोपमा उनीहरूलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको थियो । केएमसी अस्पतालबाट घाइते भेटेर फर्कने क्रममा उनीहरूलाई पक्राउ गरेर दुई पटक म्याद लिइएको थियो । पहिले ५ दिन र त्यसपछि थप १५ दिनको म्याद प्रहरीले काठमाडौं जिल्ला अदालतबाट लिएको थियो ।
चैत १५ गते राजावादीलेहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने भने पनि आन्दोलन हिसात्मक बनेको थियो । आन्दोलनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो । यो घटनामा २० जनालाई गोली लागेको थियो ।
प्रदर्शनकारीहरूले विभिन्न स्थानमा तोडफोड गर्नुका साथै लुटपाट र आगजनीसमेत गरेका थिए । राजावादीहरू अराजक बनेपछि काठमाडौंका तीनकुने आसपासको क्षेत्रमा चैत १६ गते बिहान ७ बजेसम्म कर्फ्य जारी गरिएको थियो ।
प्रतिनिधिसभाका सांसद धवलशमशेर जबरसाहितलाई पछिल्लो पटक चैत २६ गते थप १५ दिन हिरासतमा राख्ने अनुमति अदालतले दिएको थियो ।
धवल शमशेर जबरा राष्ट्रिय प्रजातन्त्र पार्टी