

काठमाडौं । भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको एटीआर–७२ जहाज अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा चालक दलका एक सदस्य (को–पाइलट) सहित सात जना यात्रु घाइते भएका छन्।
काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ नम्बरको जहाज शुक्रबार राति करिब ९ः१० बजे अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ करिब ३०० मिटर ओभर–रन भई घाँसे झाडी र माटोमा भासिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार उक्त जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए। दुर्घटनामा ललितपुर–४ निवासी २४ वर्षीय को–पाइलट सुशान्त श्रेष्ठसहित अन्य छ जना यात्रु घाइते भएका छन्।
घाइते यात्रुहरूमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं–१६ की ४० वर्षीया मुना घतानी र काठमाडौं–१६ की १६ वर्षीया प्रिया घतानी रहेका छन्।
दुर्घटनापछि नेपाल प्रहरीको उद्धार टोलीले तत्काल सबै यात्रुलाई जहाजबाट सुरक्षित रूपमा बाहिर निकाली भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचारका लागि पुर्याएको थियो। टाउको र अनुहारमा चोट लागेका कोपाइलट सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ भने अन्य छ जना यात्रु सामान्य उपचारपछि डिस्चार्ज भई घर फर्किसकेको प्रहरीले जनाएको छ।
जहाज काठमाडौंबाट शुक्रबार राति ८ः२३ बजे उडेको थियो। दुर्घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक लिम्बुको कमान्डमा ७० जना प्रहरीको टोली उद्धारमा खटिएको थियो।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जहाज दुर्घटना बुद्ध एयरलाइन्स



