Logo
२३ भदौ २०८३, मंगलबार

चन्द्र ढकालका छोरा सचिनले लिए समानुपातिकबाट उम्मेदवारी फिर्ता

अक्षरपाटी
२०८२ पुस २० , आईतबार ०९:०१ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा सांसदको उम्मेदवार बनेका व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकालले उम्मेदवारी फिर्ता लिएका छन्।

व्यवसायीको छोरा भएकै कारण पहुँचका आधारमा समानुपातिकमा परेको भन्दै उनको व्यापक आलोचना भएको थियो।

उनी मात्र होइन विभिन्न पार्टीमा कसैले ससुरा, कसैले श्रीमती, कसैले साली, कसैले छोरी त कसैले प्रमिकासम्मलाई समानुपातिकको सूचीमा पारेको आलोचना चुलिएको थियो।

सचिनले भने ‘संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यसपटक व्यक्तिगत कारणवश उक्त सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको’ जनाएका छन्।

ढकालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई लाग्छ कुनै व्यावसायिक घरानाको सन्तान हुनु, उसले उद्यमशीलतामार्फत नयाँ सोच अघि सार्नु र देशको विकासमा केही योगदान गर्छु भनेर लागिपर्नु नराम्रो होइन। मेरा पिताजीको जस्तै स्वदेशमै उद्यमशीलता विकास गरेर, उद्यम व्यवसाय सञ्चालन गरेर समृद्ध नेपाल निर्माण गर्नुपर्छ भन्ने नै मेरो सोच हो।’

उनले आफूले आफ्नो पारिवारिक पृष्ठभूमिबाट प्राप्त हुने अवसर लिएर नभई आफैले हासिल गरेको शिक्षा र ज्ञानलाई व्यवहारमा रुपान्तरण गर्दै उद्यमशीलताको विकास गर्ने प्रयत्नमा रहेको पनि सामाजिक सञ्जालमा लेखेका छन्।

भनेका छन्, ‘त्यसैले मैले कुनै पनि व्यवसायको परम्परागत निरन्तरता भन्दा पनि नविनता, नवउद्यम र चुनौतीपूर्ण काममा नै आफूलाई यसरी खार्ने प्रयत्न गरिरहेको छु, जुन नेपालका सबै युवाका लागि उदाहरणीय बन्न सकोस्।’

युवाहरुको सामूहिक नेतृत्वमा सुशासनसहितको समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति निरन्तर प्रतिबद्ध रहने समेत उनले बताएका छन्।

सचिन ढकाल समानुपातिक