Logo
८ माघ २०८२, बिहीबार

विशेष महाधिवेशनमा भाग लिन बाराबाट ६४ प्रतिशत महाधिवेशन प्रतिनिधि काठमाडौंमा

अक्षरपाटी
२०८२ पुस २६ , शनिबार ०१:०१ मा प्रकाशित

बारा । नेपाली कांग्रेसको आइतबारदेखि शुरू हुने दोस्रो विशेष महाधिवेशनका लागि बारा जिल्लाबाट महाधिवेशन प्रतिनिधि काठमाडौँ प्रस्थान गरेका छन् ।

पार्टीलाई पुनःजागरण गर्न, संगठन सुदृढीकरण गर्न, आसन्न प्रतिनिधि सभामा पार्टीले नेतृत्व गरेर जाने गरी आयोजना हुने दुई दिने विशेष महाधिवेशनका लागि बाराबाट ६४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ गएका हुन् ।

महाधिवेशन प्रतिनिधिहरू समग्र पार्टीलाई लिकमा ल्याउन बोलाइएको विशेष महाधिवेशनमा सहभागिताका लागि उत्साहपूर्वक सहभागी हुन काठमाडौँ आएको जिल्ला सचिव राजेश रौनियारले बताए ।

उनका अनुसार बाराबाट निर्वाचित अधिकांश महाधिवेशन प्रतिनिधि महाधिवेशनमा सक्रिय सहभागिता जनाउने तयारीका साथ विभिन्न सवारी साधनमा काठमाडौँ गएका छन् ।

भोलिदेखि शुरू हुने विशेष महाधिवेशनमा पार्टीको आन्तरिक लोकतन्त्र, सांगठनिक सुधार, भावी रणनीति तथा राष्ट्रिय राजनीतिसम्बन्धी महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।

बारा कांग्रेसले विशेष महाधिवेशनमार्फत पार्टीलाई थप एकताबद्ध र सशक्त बनाउने विश्वास व्यक्त गर्दै यस अगाडि नै सबै महाधिवेशन प्रतिनिधिलाई यो एतिहासिक महाधिवेशनमा सहभागी हुन ह्विप जारी गरिसकेको छ ।

प्रतिनिधिहरूले महाधिवेशनबाट सकारात्मक सन्देश र ठोस निर्णय आउने आशासमेत व्यक्त गरेका छन् । बारामा जम्मा १०४ जना महाधिवेशन प्रतिनिधि रहेकामा ६५ जना भन्दा बढी महाधिवेशन प्रतिनिधि हिँडिसकेको र बाँकी महाधिवेशन प्रतिनिधिले आइतबारसम्म काठमाडौँ पुग्ने प्रतिबद्धता जनाएको महाधिवेशन प्रतिनिधि तथा कांग्रेस बाराका पूर्व उपसभापति सुरेन्द्र गुप्ताले जानकारी गराए ।

केहीले आफूहरू कांग्रेसको सच्चा सिपाही रहेकाले कसैको डर धम्की आफूहरुलाई सह्य नभएको र कांग्रेसलाई देशको चाहना अनुसारको परिवर्तनका लागि विशेष महाधिवेशन सफल पार्नैपर्ने अर्का महाधिवेशन प्रतिनिधि तथा कांग्रेस क्षेत्रीय सभापति प्रभात चौरसियाले बताए ।

नेपाली कांग्रेस विशेष महाधिबेसन