



काठमाडौं । नेपाली कांग्रेसको दाेस्राे विशेष महाधिवेशन आज भृकुटीमण्डपमा उद्घाटन हुँदैछ। महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया सुरु भइसकेको छ। बिहान ८ बजेदेखि दर्ता सुरु गरिएको हो।
अहिले भृकुटीमण्डप पुगेका महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गरी परिचयपत्र (कार्ड) लिने क्रम जारी छ। कांग्रेसले आज दिउँसाे १ बजे विशेष महाधिवेशनको औपचारिक उद्घाटन गर्ने तयारी गरेको छ। उद्घाटनअघि काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानबाट जुलुस निकालिने कार्यक्रमसमेत तय गरिएको छ।
विशेष महाधिवेशनमा के–के छ नीतिगत निर्णयको तयारी ?
विशेष महाधिवेशनको मुख्य एजेन्डा पार्टीभित्र व्यापक नीतिगत सुधार र विधान संशोधन रहेको छ। महामन्त्री विश्वप्रकाश शर्माले यसअघि प्रस्ताव गरेका विभिन्न विषयलाई नीति र विधानको रूप दिने तयारी छ। ती प्रस्तावहरू यसप्रकार छन्–
– पार्टीमा पदाधिकारीका लागि १, २, ३ र ४ पटकको मोडल लागू गर्ने प्रस्ताव। यसअनुसार राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटकभन्दा बढी हुन नपाउने व्यवस्थालाई पार्टीको नीति बनाउने तयारी।
– समानुपातिक सांसद एक पटकभन्दा बढी हुन नपाउने, प्रत्यक्ष निर्वाचन जितेका तथा मन्त्री भइसकेकालाई समानुपातिक सांसद नदिने व्यवस्था विधानमै समेट्ने प्रस्ताव।
– संघ, प्रदेश र स्थानीय तहका सरकार सञ्चालनका लागि समन्वय समिति बनाउने र त्यस्तो समितिको संयोजक सम्बन्धित तहका पार्टी सभापति हुने व्यवस्था।
– क्रियाशील सदस्यता केन्द्रमा नपठाई वडास्तरमै टुंग्याउने तथा महाधिवेशन प्रतिनिधि पनि वडाबाटै चयन हुने व्यवस्था।
– विज्ञ तथा पेसागत क्षेत्रका व्यक्तिलाई पार्टीमा सिधै प्रवेशको अवसर दिने।
– हाल केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हटाएर महाधिवेशन प्रतिनिधिको निर्वाचनबाट आउने व्यवस्था थप गर्ने।
– जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका लागि अधिवेशन प्रतिनिधि पनि निर्वाचनबाटै छनोट गर्ने व्यवस्था।
– केन्द्रीय कार्यसमितिमा २० प्रतिशत युवा (४० वर्षमुनिका) र १५ प्रतिशत पेसागत क्षेत्रको प्रतिनिधित्व अनिवार्य गर्ने।
– प्रत्येक तहको अधिवेशन ३ देखि ६ महिनाको फरकमा गर्ने, भ्रातृसंस्थाको पुनः परिभाषा गरी तिनलाई स्वायत्त बनाउने।
– पार्टीका सबै संरचनामा महिलाको सहभागिता बढाउने, केन्द्रमा ४० वर्षमुनिका युवाका लागि एक सहमहामन्त्री र पेसागत क्षेत्रबाट एक सहमहामन्त्री थप गरी दुई सहमहामन्त्रीको व्यवस्था गर्ने। प्रदेश कार्यसमितिमा पनि समानुपातिक आधारमा सहमहामन्त्री थप गर्ने गरी विधान संशोधन गर्ने।
– केन्द्रीय कार्यसमितिको आकार विस्तार गर्दै ७७ जिल्लालाई प्रतिनिधित्व गर्ने ७७ जनासहित २६५ प्रत्यक्ष निर्वाचित, ३६ समावेशी तथा समानुपातिक व्यवस्थाअनुसार सभापतिबाट मनोनित गरी कुल ३०१ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने प्रस्ताव।
– महाधिवेशनपछिको शक्तिशाली निकाय महासमितिमा प्रत्येक निर्वाचन क्षेत्रबाट ४० वर्षमुनिका दुई जना युवा प्रतिनिधि (एक महिला, एक पुरुष) र पेसागत क्षेत्र (डाक्टर, इन्जिनियर, वकिल, नर्सलगायत) बाट एक जना प्रतिनिधि रहने व्यवस्था।
विशेष महाधिवेशनमा यी प्रस्तावमाथि व्यापक छलफल र निर्णय हुने कांग्रेस नेताहरूले बताएका छन्। पार्टीलाई संस्थागत, समावेशी र नीतिमुखी बनाउने दिशामा विशेष महाधिवेशन निर्णायक हुने अपेक्षा गरिएको छ।
नेपाली कांग्रेस विशेष महाधिवेशन



