Logo
२४ असार २०८३, बुधबार

कांग्रेसले इतिहासको योगदानको ब्याज मात्र खाएर बसेर भविष्य बन्दैन : पूर्व उपसभापति श्रेष्ठ

अक्षरपाटी
२०८२ पुस २७ , आईतबार ०३:०१ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले कांग्रेसले इतिहासमा गरेको योगदानको ब्याज मात्र खाएर बसेर भविष्य नबन्ने तर्क गरेका छन्।

आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले अहिले जनताको अपेक्षा बद्लिएको भन्दै पार्टीको चल्ने शैली पनि बदल्नुपर्ने बताए।

अब नयाँ युवाहरुलाई नेतृत्वमा ल्याउन आवश्यक रहेको उनको भनाई छ।

उनले भने,‘ देश नै रहेन भने कोसँग शासन गर्ने ? कांग्रेसले राणा शासन फाल्यो गणतन्त्र ल्यायो तर इतिहासको ब्याज मात्र खाएर अब भविष्य चल्दैन्। अहिले पुस्ता बद्लिएको छ। जनताको अपेक्षा बद्लेको छ। त्यसैले अब हाम्रो पार्टी चल्ने शैली पनि बदल्नुपर्छ। अब नयाँ युवाहरुलाई अगाडि सार्नुपर्छ। नयाँ युवा र युवतीहरुलाई यो देशको हरेक ठाउँमा ल्यानुपर्छ। उहाँहरुलाई उठाएर जिताउनुपनि पर्छ।’

त्यस्तै उनले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि देश जटिल अवस्थामा रहेको भन्दै पार्टी र गुटभन्दा माथि उठेर राष्ट्रियता जोगाउन एकजुट हुनुपर्ने धारणा राखे।

‘म यहाँ कुनै स्वार्थको पोको दिएर आएको छैन्। आज म यो ऐतिहासिक मञ्चमा उभिएर देशको अस्तित्वको विषयमा बोल्न आएको हुँ। स्थिति अत्यन्तै जटिल छ। भदौं २३ र २४ गतेको घट्नाले के देखाएको छ ? अब गुटको कुरा नगरौं पार्टीभन्दा माथि उठेर राष्ट्रियता जोगाउन हामी एकजुट हुनुपर्छ’उनले भने।

त्यस्तै उनले नेपाली कांग्रेस पार्टी कमजोर भयो भने देशको लोकतन्त्र नै कमजोर हुने भन्दै पार्टीको हितको लागि जस्तोसुकै त्याग गर्न पनि तयार भएको बताए।