

काठमाडौं। नेपाली कांग्रेसको विषेश महाधिवेशनको पक्षमा सँस्थापन पक्षबाट थप ३० जना केन्द्रिय सदस्य थप भएका छन्।
हिजोदेखि काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको दोस्रो विषेश महाधिवेशनका पक्षमा थप ३० जना केन्द्रिय सदस्य थपिएको सहमहामन्त्री डिला सँग्रौलाले जानकारी दिइन्।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै नेतृ सँग्रौलाले जेनजी आन्दोलनपछीको परिवर्तित परिस्थितिको सामना गर्न र नेतृत्व परिवर्तनबाट कांग्रेसलाई विधि, विधान र सिद्धान्तअनुसार अगाडि बढाउनका लागि विषेश महाधिवेशन ऐतिहासिक बन्ने विश्वास व्यक्त गरिन्।
लोकतान्त्रिक विधि र पद्धतिअनुसार पार्टी सञ्चालनका लागि कांग्रेसको नेतृत्व परिवर्तन अत्यावश्यक भएको उनको जिकिर छ।
आम कांग्रेसका कार्यकर्ता र तिनको भावना तथा मर्म बुझ्न नसक्दा र कांग्रेसलाई रुपान्तरण गरी समयानुकूल बनाउन नसक्दा वर्तमान परिस्थितिको सृजना भएको उनको दाबी छ।
हिजोदेखि सुरु भएको कांग्रेसको दोश्रो विषेश महाधिवेशनमा आज बन्दसत्र सुरु हुँदैछ। सुरुमा विषेश महाधिवेशनको माग गरेर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएका थिए भने उद्याटन सत्रको पहिलो दिन ५६ प्रतिशत बढी दर्ता भएका छन्।
आज त्यो सँख्या अझै थपिने र सँस्थापन पक्षका केन्द्रिय नेताहरु विषेश महाधिवेशनमा सहभागी हुने बताइन्।




