

काठमाडौं । चर्चामा रहेको फिल्म ‘बिगुल’ को प्रचारप्रशार तीव्र बन्दै गएको छ। फागुन १ गतेबाट देशब्यापी प्रदर्शनमा आउने फिल्मको टिमले साताब्यापी पश्चिम नेपाल दर्शक साक्षात्कार कार्यक्रम मंगलबार समापन गरेको हाे।
केही साताअघि पूर्वी नेपालका बिभिन्न स्थानमा दर्शकसँग प्रत्यक्ष भलाकुसारी गरेको ‘बिगुल’ ले यसपालि भने बुटवल,भैरहवा,दाङ,कोहलपुर,नेपालगंज तथा पोखराका दर्शकसमक्ष प्रत्यक्ष अन्तरक्रिया गरेको हो।
पूर्वी नेपालका बिराटनगर, इटहरी, धरान, दमक, बिर्तामोड हुँदै हेटौडा र चितवनको टुरपछि गत साता निर्देशक रमेश कोइराला, कथाकार–निर्माता दिनेश कोइराला र अभिनेता नरेन खड्काले पश्चिम नेपालको यात्रा तय गरेका थिए।
दर्शकमाझ पुगी ‘बिगुल’ बारे जानकारी दिँदा निकै सकारात्मक प्रतिक्रिया पाएको निर्माता कोइरालाले बताए।
‘हामी जहाँजहाँ पुग्यौं, सबै ठाउँमा दर्शकहरु ‘बिगुल’ हेर्न प्रतिक्षारत रहेको पायौं,’ उनी भन्छन्,‘हामीलाई स्थानीय लब्धप्रतिष्ठित,संचारकर्मी,नेपाल जेसिसका पदाधिकारीहरु, स्कुल, कलेजलगायत बिभिन्न पेशाकर्मीले निकै साथ दिनु भएको छ।’
अभिनेता नरेनले ‘बिगुल’ ले हरेक उमेर, बर्ग र समुदायका दर्शकलाई आकर्षित गर्ने बिश्वास ब्यक्त गरे।

निर्देशक कोइरालाले भुँइमान्छेको कथा बोल्ने ‘बिगुल’ प्रति सबै बर्गका दर्शकले चासो देखाएको बताए।
समसामयिक राजनीति खिचातानी, पारिवारिक दायित्व, जिम्मेवारी तथा आमनेपालीको मौलिक हक अधिकारको बिषय उठान गरिएको ‘बिगुल’ को मोफसल प्रचारप्रशार कार्यक्रममा नेपाल जेसिसले भरपुर साथ दिएको थियो।
म्याग्नोलिया ग्रुपको ब्यानरमा कल्पना पौडेलको प्रस्तुति रहेको फिल्ममा नरेन खड्काका साथमा बेनीशा हमाल, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिसिर वाङ्देल, बिनोद न्यौपाने, जेएन घिमीरे, गीता अधिकारी, नवअभिनेत्री मीरा पण्डित, मानश्री शर्माका साथमा रबिन्द्र खड्काको अभिनय छ।
महेश कोइराला र सूर्यकान्त कोइराला सहनिर्माता रहेको फिल्मको पटकथा र सम्वाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन्।
शिब ढकालको छायाङकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनवी महर्जनको द्वन्द्व निर्देशन, बिश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको फिल्म तारा थापा ‘किम्भे’ ले सम्पादन गरेका हुन्।
बिगुल




