Logo
३१ वैशाख २०८३, बिहीबार

‘बोर्डर २’ ले विश्वव्यापी बक्स अफिसमा ३८३ करोड भारू कमायो

अक्षरपाटी
२०८२ माघ २० , मंगलबार ०१:०२ मा प्रकाशित

काठमाडौं । बलिउडको युद्ध–ड्रामामा आधारित फिल्म ‘बोर्डर २’ ले बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ।

प्रदर्शनको सुरुआती दिनदेखि नै बलियो उपस्थिति देखाएको फिल्मले ११औँ दिनसम्म आइपुग्दा विश्वव्यापी बक्स अफिसमा ३८३ करोड भारूभन्दा बढी कमाइ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। फिल्म २३ जनवरीमा रिलिज भएको हो।

फिल्ममा सनी देओल, वरुण धवन, दिलजित दोसाँझ र अहान शेट्टी मुख्य भूमिकामा छन्। गणतन्त्र दिवसको अवसरलाई उपयोग गर्दै फिल्मले पहिलो हप्तामै भारतमा २२४ करोड भारू नेट कमाइ गरेको थियो। दोस्रो हप्तामा प्रवेश गरेसँगै दैनिक आम्दानीमा केही गिरावट देखिएको छ। ११औँ दिन अर्थात् दोस्रो सोमबार फिल्मले करिब ५.७५ करोड भारू कमाइ गरेको रिपोर्ट सार्वजनिक भएको छ।

भारतमा हालसम्म फिल्मको कुल नेट कमाइ करिब २८२ करोड भारू पुगेको छ भने अन्तर्राष्ट्रिय बजारबाट १०० करोड भारूभन्दा बढी आम्दानी भएको अनुमान गरिएको छ। यससँगै फिल्मको विश्वव्यापी कलेक्सन ३८३ करोड भारू नाघेको हो।

सन् १९९७ मा आएको चर्चित फिल्म ‘बोर्डर’ को सिक्वेलका रूपमा निर्माण गरिएको ‘बोर्डर २’ लाई अनुराग सिंह ले निर्देशन गरेका हुन्। फिल्म सन् १९७१ को भारत–पाकिस्तान युद्धको पृष्ठभूमिमा आधारित छ। दोस्रो हप्तामा आम्दानी केही घटे पनि ‘बोर्डर २’ ले सन् २०२६ कै उच्च कमाइ गर्ने फिल्ममध्ये एकको रूपमा आफूलाई स्थापित गरिसकेको छ।

भूषण कुमार, कृष्ण कुमार, जे।पी। दत्ता र निधि दत्ताद्वारा निर्मित फिल्ममा मोना सिंह, सोनम बाजवा, मेधा राणा र अन्या सिंह पनि प्रमुख भूमिकामा छन्। नेपालमा पनि फिल्मले राम्रो व्यापार गरेको छ। गत शनिबारसम्म नेपालमा फिल्मले २ करोड २१ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको बताइएको छ।

बोर्डर २

ट्रेन्डिङ ( साप्ताहिक )