Logo
२४ फागुन २०८२, आईतबार

संस्कार, मानवीयता र राष्ट्रप्रेमका लागि चैतन्यको शैक्षिक जागरण

अक्षरपाटी
२०८२ माघ २२ , बिहीबार ०५:०२ मा प्रकाशित

कैलाली। आजको शिक्षा अंग्रेजीमा आधारित छ अर्थात हामी आफ्ना बालबालिकाले के सिके? कस्तो ज्ञान आर्जन गरे ? भन्दा पनि फरर अंग्रेजी बोलिदियो भने दंग पर्छाैँ।

तर आधुनिक बन्दै गएको समाजमा हाम्रा बालबालिका एकांकी, प्रकृति, संस्कृति, मानवीयता र एकल स्वभावको बनिरहेका ख्याल गर्दैनाै।

यतिसम्म कि आजको सहरिया बालबालिका दूध पाेकाबाट र चामल बाेराबाट आउँछ भन्ने मात्रै ज्ञान राख्ने अवस्थामा पुग्दैछन्।

यही अभाव पूर्तिका लागि धनगढिस्थित चैतन्य पाठशालाले शिक्षा र संस्कार, वेद र विज्ञान, प्रकृति र संस्कृतिको समन्वयसहित जीवनोपयोगी शैक्षिक अभ्यास गराउँदै आएको छ।

पाठशालाले औपचारिक शिक्षासँगै सामाजिक सेवाको क्षेत्रमा पनि उल्लेखनीय योगदान गर्दै आएको छ।

यही मेलाेमा पाठशालाले सुदूरपश्चिमका दूरदराजमा रहेका शैक्षिक सँस्था, प्रकृति, समाज र सँस्कृतिसँग आफ्ना विद्यार्थीलाई घुलमिल गराउने जागरण यात्रा थालेको छ।

‘विगत केही वर्षदेखि हामीद्ये चैतन्य शैक्षिक जागरण कार्यक्रम गर्दै आएका छाैँ’, पाठशालाका अध्यक्ष गणेश जाेशीले भने, ‘सुदूरपश्चिमका पहाडी जिल्लामा अवस्थित सामुदायिक विद्यालयहरूमा शैक्षिक सामग्री वितरण गर्नुका साथै विद्यार्थीमा सकारात्मक सोच र आत्मविश्वास विकास गर्न हामीले निरन्तर रूपमा विद्यार्थीसहित जागरण अभियान गर्दै आएका छाैँ।’

यस्ताे जागरणले विद्यालय नेतृत्वलाई पनि संस्कारयुक्त बनाउने विश्वास अध्यक्ष जाेशीको छ।
विद्यार्थीहरूको बहुआयामिक व्यक्तित्व विकासमा केन्द्रित शैक्षिक अभ्यासतर्फ प्रेरित गर्नका लागि यो जागरण विगतदेखि सुरु गरिएको उनले बताए।

‘आज पनि दूरदराजको आर्थिक, शैक्षिक अवस्था कमजोर छ, तर हिलोमा कमज फूले झैँ त्यहीँबाट अब्बल विद्यार्थी उत्पादन भइरहेका छन्,’ जोशीले भने, ‘ हाम्रा विद्यार्थीमा सकारात्मक सोच निर्माण, उच्च लक्ष्य निर्धारण तथा जीवन निर्माणका लागि उत्प्रेरणा जागोस भन्ने यो अभियानको उद्देश्य हो।’

यस्ता जागरणले संस्कृति र प्रकृतिप्रति प्रेम, मानवीय संवेदनशीलता, सामाजिक आचरण, सेवा भावना तथा राष्ट्रप्रेमको विकास गर्दै राष्ट्रिय चरित्र निर्माणका लागि चिन्तनशील नागरिक बन्न प्रेरित गर्ने विश्वास अध्यक्ष जोशीले व्यक्त गरे।

एक भूगाेल र परिवेशको विद्यार्थीलाई अर्को परिवेशमा पुग्ने अवसर दिँदा स्थानीय भूगोल, प्राकृतिक सम्पदा, पर्यटकीय सम्भावना, जनजागरण तथा सहृदय समाज निर्माणमा योगदान पुर्‍याउने उनको विश्वास छ।

यसखाले जागरणले वर्तमान समयमा व्याप्त निराशा र नकारात्मकतालाई पनि चिरेर सकारात्मक सोच र सेवाभावको विकास हुने उनले बताए। जागरण यात्राका क्रममा पाठशालाले स्थानीय विद्यालयका विद्यार्थीहरुका लागि खेलकुद र शैक्षिक सामग्री पनि वितरण गरेको छ।

गणेश जोशी चैतन्य पाठशाला