Logo
२४ फागुन २०८२, आईतबार

काठमाडौंमा मनी लाउन्डरिङविरुद्ध अन्तर्राष्ट्रिय सम्मेलन

अक्षरपाटी
२०८२ माघ २८ , बुधबार ०५:०२ मा प्रकाशित

ग्रे–लिस्टको सन्दर्भमा संयन्त्र सुदृढ गर्नुपर्नेमा गभर्नर पौडेलको जोड

काठमाडौं। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा आतंकवाद वित्तपोषण नियन्त्रणसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ।

नेपाल राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखाले आयोजना गरेको सम्मेलनमा स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागिता छ।

सम्मेलनको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले नेपाल हाल वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे–लिस्ट’ मा रहेको सन्दर्भमा आन्तरिक संरचना र संयन्त्रलाई थप सुदृढ तथा प्रभावकारी बनाउनुपर्ने बताए।

उनले ग्रे–लिस्ट चुनौतीपूर्ण अवस्था भए पनि यसलाई सुधार र प्रणाली सबलीकरणको अवसरका रूपमा लिनुपर्ने बताए।

‘वित्तीय अपराधविरुद्धको लडाइँ कुनै एक निकायमा सीमित हुँदैन,’ गभर्नर पौडेलले भने, ‘बैंकिङ, बीमा, पूँजीबजार, सहकारीलगायत सबै सरोकारवालाबीच साझा प्रतिबद्धता आवश्यक छ।’

स्वदेश र विदेशका विज्ञको जमघट

सम्मेलनमा भारत, बंगलादेश, श्रीलंका र मंगोलियाका विषयविज्ञहरू सहभागी छन्। साथै, नेपाल राष्ट्र बैंक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, विभिन्न मन्त्रालय, नियामक निकाय तथा अनुसन्धान निकायका प्रतिनिधिहरूको उपस्थिति छ।

पहिलो दिन नेपालमा एएमएल/सीएफटी व्यवस्थाको वर्तमान अवस्था, पारस्परिक मूल्यांकन–२०२३ सन्दर्भ, व्यापार तथा सेवामार्फत हुने मनी लाउन्डरिङका चुनौती र नियन्त्रण उपायबारे कार्यपत्र प्रस्तुत गरिएको थियो।

दोस्रो दिन नियामक उपकरणमा केन्द्रित

दोस्रो दिन नियामक उपकरण तथा प्रविधिको प्रयोगमार्फत मनी लाउन्डरिङ तथा आतंकवाद वित्तपोषण पहिचान गर्ने उपाय, ‘ग्रे–लिस्ट’ बाट बाहिरिने अनुभव तथा वित्तीय गुप्तचर प्रतिवेदनको उपयोगसम्बन्धी विषयमा कार्यपत्र प्रस्तुति हुने कार्यक्रम छ।

साथै, न्यायिक दृष्टिकोणबाट सम्पत्ति शुद्धीकरण नियन्त्रणका विषयमा पनि छलफल गरिने आयोजकले जनाएको छ।

नेपाल एफएटीएफको ‘ग्रे–लिस्ट’ मा परेको सन्दर्भमा कानुनी तथा नीतिगत व्यवस्था सुदृढ गर्दै प्रभावकारी कार्यान्वयन र अन्तर्राष्ट्रिय असल अभ्यासको अनुसरणमा सम्मेलन उपलब्धिमूलक हुने अपेक्षा गरिएको छ।

नेपाल राष्ट्र बैंक