



काठमाडौँ। पाटन संयुक्त क्याम्पस नेपाली विभागको साप्ताहिक शृङ्खला ‘संज्ञान विमर्श’ को नवौँ अङ्कमा ‘केवरत लोकसम्पदा’ माथि विमर्श भएको छ।
विभागका सदस्य उपप्राध्यापक चतुर्भुजलाल दास केवरतको नवीन कृति ‘केवरत लोकसम्पदा’माथि विभागकाअर्का सदस्य उपप्राध्यापक माधवप्रसाद नेपालले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका हुन्।
उनले लोकवार्ताको सौद्धान्तिक अवधारणा प्रस्तुत गरी कृतिको विश्लेषण गरेका थिए। कृतिका माध्यमबाट केवरत जातिको लोकशैली, परम्परा, भाषा, शिल्पकलालगायत पक्षलाई नजिकबाट बुझ्न सकिने नेपालले बताए।
उनले यो कृति किनारामा रहेका केवरत जातिको पहिचान उजागर गर्न सक्षम रहेको बताए।
कार्यक्रममा क्याम्पसका अङ्ग्रेजी विभागका प्राडा भरत उपाध्यायले यस्ता कृतिले जातिको सांस्कृतिक अवस्थालाई पूर्वाग्रह नराखी प्रस्ट पार्नुपर्ने विचार व्यक्त गरे।
क्याम्पसका मानवशास्त्र विभागका मानवशास्त्री डा. विष्णु दाहालले मानिसको जीवनशैली, खेतीपाती, रैथाने ज्ञानपरम्परा, मौलिक संस्कृति आदि पक्षलाई अन्य जातिको धरातलसँग तुलना गरी अध्ययनलाई पूर्ण रूपमा प्रस्तुत गर्नु हरेक अनुसन्धाताको कर्तव्य हुने बताए।
उनले जातीय विषय मानवशास्त्रसँग जोडिने भएकाले मानवशास्त्रीय दृष्टिकोणभित्र प्रवेश नगरी अध्ययनले पूर्णता प्राप्त नगर्ने तर्क राखे।
कार्यक्रमकी सभाध्यक्ष विभागीय सदस्य डा. शोभा ढुङ्गानाले भाषा, साहित्य, संस्कृति, लोकविश्वास, मिथक आदि राष्ट्रका धरोहर भएको बताइन्।
उनले राज्यले पाखा लगाएको जाति केवरतको लोकसंस्कृति र सम्पदा उजागर गर्न अग्रसर स्रष्टा केवरतको मुक्त कण्ठले प्रशंसा गरिन्।
कृतिकार केवरतले केवरत जाति राज्यको आँखामा पर्न नसकेको विचार प्रस्तुत गरे। उनले यो कृति यस जातिको पहिचान र परिचयसँग जोडिएको बताए।
केवरतले वृद्ध पुस्ताको निधनसँगै त्यस समुदायको ज्ञान र सभ्यता मृत हुने ठानेर कृतिमार्फत आफू ज्ञान सङ्कलकका रूपमा अघि सरेकाे धारणा राखे।
नेपाली विषयका उपप्राध्यापक केवरतको केवरत जातिको सभ्यता, संस्कृति र पहिचान अध्ययन तथा अनुसन्धानका क्षेत्रमा विशिष्ट योगदान रहेको छ।
केवरत लोकसम्पदा



