

काठमाडौं । नेकपा एमाले ले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तयार पारिएको घोषणापत्र आज औपचारिक रूपमा सार्वजनिक गर्न लागिएको हो ।
पार्टीका अनुसार मध्याह्न १२ बजे काठमाडौंको नयाँबानेश्वरस्थित कार्यक्रमस्थलमा अध्यक्ष केपी शर्मा ओली सहित पदाधिकारीहरूको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिनेछ । प्रचारप्रसार संयोजक मीनबहादुर शाहीले घोषणापत्रमा पार्टीका प्रमुख नीति तथा कार्यक्रमहरू समेटिएको जानकारी दिएका छन् ।
घोषणापत्रमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणलाई मूल नाराका रूपमा अघि सार्दै सुशासन प्रवर्द्धन, रोजगारी सिर्जना, सामाजिक न्याय सुनिश्चितता तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।
आगामी निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्ने लक्ष्यसहित एमालेले रणनीतिक कार्यक्रम र कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेको छ ।
नेकपा एमाले



