Logo
३ वैशाख २०८३, बिहीबार

ढल्यो एनपीको ‘किल्ला’, दीपकको शानदार जित

अक्षरपाटी
२०८२ फागुन २३ , शनिबार ०६:०३ मा प्रकाशित

धनगढी। लामो राजनीतिक पृष्ठभूमि भएका नेपाली कांग्रेसका नेता एनपी साउँदलाई फराकिलो मतान्तरले हराउँदै कञ्चनपुर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका दीपक बोहरा विजयी भएका छन्।

पटक पटक निर्वाचन लड्दै आएको एनपीको किल्लामा पहिलोपटक प्रवेश गरेका रास्वपाका नेता बाेहराले शानदार जित हासिल गरेका हुन्।

कांग्रेसका उम्मेदवार साउँदलाई बोहराले २३ हजार भन्दा बढी मतान्तरले पराजित गर्दै पहिलोपटक संसदको यात्रा तय गरेका छन्।

सञ्चारकर्मीको पृष्ठभूमिबाट राजनीतिमा आएका बोहराले ३३ हजार ९५२ मत प्राप्त गर्दै साउँदको किल्ला तोडेका हुन्।

हक्की र निडर स्वभावका ३८ वर्षीय बाेहरा डडेलधुराको अमरगढी नगरपालिका चुम्सालमा जन्मिएका हुन्।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका स्थायी घर भएका उनले नेपाल टेलिभिजन हुँदै ग्यालेक्सी फोरके टेलिभिजनसम्म करिब २१ वर्ष लामो पत्रकारिता यात्रा तय गरेका छन्।

रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरेसँगै उनी लामिछानेको सबैभन्दा निकट रहेर पार्टीलाई यो तहसम्म पुर्याउनमा भूमिका निर्वाह गर्दै आएका व्यक्ति हुन्।

पत्रकारितामा रहँदा अन्याय, अत्याचार र भ्रष्टाचारका विरुद्ध खराे उत्रने स्वभावका बोहराले अब संसदका रुपमा सधैं जनताको पक्षमा उभिने बताए।

‘हामी काम गर्न आएका हौं। नेताको घर अगाडि पीच सडक छ, जनता सँधै हिलाम्मे सडकमा छन्। यो क्षेत्रमा सँधै सुकुम्बासीको सवाललाई सुनको अण्डा दिने कुखुरा बनाइयो। अब त्यस्तो हुँदैन। अब हामी आलाेचना गरेर बस्दैनाैँ, काम गरेर देखाउँछाैँ’, उनले भने।

एनपी साउँद दीपक बोहरा निर्वाचन

ट्रेन्डिङ ( साप्ताहिक )