



काठमाडौं। प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ पनि उल्लेख्य मत ल्याएको छ। हालसम्मको गणनाअनुसार पार्टीले तीन लाखभन्दा बढी मत कटाएको छ।
निर्वाचन आयोगका अनुसार ८८ लाख ४८ हजार १४८ मत गणना हुँदा श्रम संस्कृतिले ३ लाख ८ हजार ६५६ मत प्राप्त गरेको छ। यो गणना भएको कुल मतको करिब साढे तीन प्रतिशत हो।
समानुपातिक प्रणालीमा सिट प्राप्त गर्नका लागि कुनै पनि दलले कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ। हालसम्मको नतिजाअनुसार श्रम संस्कृति उक्त थ्रेसहोल्ड पार गर्ने अवस्थामा देखिएको छ।
श्रम संस्कृतिलाई पछ्याउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ९० हजार ७१ मत प्राप्त गरेको छ।
त्यसैगरी अन्य दलतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ४२ लाखभन्दा बढी, नेपाली कांग्रेसले १४ लाखभन्दा बढी, नेकपा एमालेले १२ लाखभन्दा बढी र नेपाल कम्युनिष्ट पार्टीले ६ लाखभन्दा बढी मत प्राप्त गरेका छन्।
प्रत्यक्ष निर्वाचनतर्फ भने श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङसहित आरेन राई र ध्रुवराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन्।
यसैबीच इलाम–१ मा श्रम संस्कृतिका उम्मेदवार हाल दोस्रो स्थानमा रहेका छन्।
निर्वाचन श्रम संस्कृति पार्टी



