



काठमाडाैं। नवलपरासीको दाउन्नेमा पाँचवटा सवारीसाधन एकआपसमा ठाेक्किँदा ९ जना घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट सुस्तापूर्व)काे विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक भारतीय नम्बरको कन्टेनरले एकतर्फीबाटाेमा उछिन्न खाेज्दा दुर्घटना भएको हो।
मंगलबार राति सुनवलबाट नारायणगढतर्फ आउँदै गरेको यूपी २१ पीटी २७९१ नम्बरको कन्टेनरले ‘ओभरटेक’ गर्ने क्रममा ती सवारीसाधन एकापसमा ठोक्किएका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार सुरुमा कन्टेनरले काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेशको ०२-००१ ख ११९२ नम्बरको बसलाई ठक्कर दिएको थियो।
साे बस बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको कर्णाली प्रदेशको ००२ प ९५७० नम्बरको मोटरसाइकल, काठमाडौंबाट रोल्पा जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०८२२ नम्बरको बस र भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख २४७५ नम्बरको बस एकअर्कामा ठोक्किएका थिए।
घटनामा पाँच सवारीसाधनमा सवार ९ जना घाइते भएका छन्। घाइते भएकाहरुलाई उपचारका लागि चितवनको भरतपुर र मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा पुर्याइएको छ।
दुर्घटनामा संलग्न कन्टेनर चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटना



