Logo
१७ वैशाख २०८३, बिहीबार

मध्यपूर्व युद्धको असर : ३० प्रतिशतले महँगियो मल, आपूर्ति नै ठप्प हुने चिन्ता

अक्षरपाटी
२०८२ चैत्र ५ , बिहीबार ०९:०३ मा प्रकाशित

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा डिएपी मलको मूल्य अकासिएको छ। प्रति टन करिब ९०० देखि ९८० अमेरिकी डलरसम्म मूल्य पुगेको छ।

युरियाको मूल्य ७५० देखि ८५० डलर हाराहारीमा छ। पोटास भने अन्तर्राष्ट्रिय बजारमै अभाव भएको कारण उपलब्ध हुन मुस्किल छ।

पश्चिम एशियामा जारी इरान र इजरायलबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा बढ्दो तनावले रासायनिक मलको मूल्य उल्लेख्य रूपमा बढ्दै गएको छ।

युद्धअघि नै मलको मूल्य बढ्दो क्रममा थियो भने पछिल्लो समय झन् तीव्र रूपमा वृद्धि हुँदै गएको हो। पेट्रोलियमको मूल्य वृद्धिको असरले झन हरेक वस्तुको मूल्यमा असर पर्ने पक्का जस्तै छ।

मलखाद व्यवसायी संघका अध्यक्ष ईश्वर डल्लाकोटीले अहिले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य करिब २५ देखि ३० प्रतिशतसम्म बढिसकेको बताए।

उनका अनुसार हाल डिएपी मलको मूल्य प्रति टन करिब ९०० देखि ९८० अमेरिकी डलरसम्म पुगेको छ भने युरियाको मूल्य ७५० देखि ८५० डलर हाराहारीमा रहेको छ।

पोटास भने अन्तर्राष्ट्रिय बजारमै अभाव भएको कारण उपलब्ध हुन कठिन भएको उनले जानकारी दिए। सामान्य अवस्थामा रासायनिक मलको मूल्य प्रतिटन ४५० देखि ६०० डलरको बीचमा रहने गर्दथ्यो।

नेपालमा भित्रिने अधिकांश मल चीन, भियतनाम लगायत पश्चिम एशियाली मुलुकबाट आउने गर्दछ। तर युद्धका कारण आपूर्ति श्रृंखलामा अवरोध आउँदा मूल्य वृद्धि र उपलब्धतामा समस्या देखिएको छ।

कृषि सामग्री कम्पनीको आगामी टेन्डर प्रक्रियामा समेत अनिश्चितता देखिएको उनले बताए। ‘अन्तर्राष्ट्रिय बजारमै मल उपलब्ध नभए आपूर्तिकर्ताहरूले टेन्डरमा सहभागिता नजनाउन पनि सक्छन्,’ उनले भने।

उनका अनुसार यस्तो अवस्थामा अन्तर्राष्ट्रिय बिचौलियाहरू हावी हुने र मलको मूल्य थप महँगो हुने जोखिम बढ्छ।

उनका अनुसार हाल नेपाल सरकारसँग करिब १ लाख ७० हजार मेट्रिक टनसम्म मल मौज्दात रहेको अनुमान छ।

तर रोपाइँ सिजनसम्म आइपुग्दा यो मौज्दात पर्याप्त नहुने उनको भनाइ छ। असारसम्ममा मात्रै करिब ५०–६० हजार मेट्रिक टन मल खपत हुने हुँदा बाँकी मौज्दातले आवश्यकता धान्न नसक्ने देखिन्छ।

भारतबाट अनौपचारिक रूपमा आउने मलसमेत अहिले घट्ने सम्भावना रहेको उनले बताए। ‘भारतमै अभाव बढेकाले सीमावर्ती क्षेत्रबाट आउने मल पनि अब घट्ने देखिन्छ,’ उनले भने।

विशेषगरी धान रोपाइँपछि ४५ दिनमा गरिने ‘टप ड्रेसिङ’का लागि युरियाको अभाव झन् गम्भीर हुने उनले चेतावनी दिए। ‘रोपाइँका लागि जस्तो–तसो धानिए पनि टप ड्रेसका लागि ठूलो समस्या हुन्छ,’ उनले भने।

समाधानका रूपमा डल्लाकोटीले बंगलादेश र चीनलाई वैकल्पिक स्रोतका रूपमा अघि बढाउन सुझाव दिएका छन्।

बंगलादेशबाट विगतमा ५२ हजार मेट्रिक टन युरिया आयात गरिएको उदाहरण दिँदै उनले पुनः कूटनीतिक पहल गर्नुपर्ने बताए। त्यस्तै चीनसँग पनि उत्तरी नाका वा समुद्री मार्गमार्फत आयात बढाउन सकिने उनको भनाइ छ।

उनले टेन्डर प्रक्रिया छोट्याएर ७–१५ दिनभित्रै निर्णय गर्ने व्यवस्था गर्नुपर्ने र निजी क्षेत्रलाई समेत सहभागी गराउनुपर्ने सुझाव दिएका छन्। साथै दीर्घकालीन समाधानका लागि ठूलो क्षमताका गोदाम निर्माण गरी सस्तो हुँदा मल खरिद गरेर ‘बफर स्टक’ राख्नुपर्ने आवश्यकता औंल्याए।

‘सरकारले समयमै निर्णय नगरे आगामी दिनमा मल अभाव अझ भयावह बन्न सक्छ,’ उनले चेतावनी दिए।

रासायनिक मल