Logo
१४ असार २०८३, आईतबार

सुदूरपश्चिममा रानाथारुले मनाए ‘चैतकी चराँई’

अक्षरपाटी
२०८२ चैत्र ९ , सोमबार ०७:०३ मा प्रकाशित

धनगढी –  सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने रानाथारु समुदायले आज परम्परागत रूपमा ‘चैतकी चराँई’ पर्व हर्षोल्लासका साथ मनाएका छन्।

समुदायको सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको यो पर्व धार्मिक आस्था, सामाजिक एकता र जनस्वास्थ्यको कामनासँग सम्बन्धित रहेको छ।

चैतकी चराँईको अवसरमा घर–घरमा अन्दीको भात, मिसौला, माछा, आलु लगायतका परिकार पकाइन्छन्। तयार पारिएका यी पकवानहरूलाई गुरुवामार्फत ७ भवानी र उनका भाइ लंगुणाको विधिपूर्वक पूजा गर्ने चलन रहेको छ। यस पर्वलाई गाउँ–नगरमा रोगव्याधि नफैलियोस्, सबैको रक्षा होस् भन्ने कामनासहित मनाइने गरिएको विश्वास छ।

स्थानीय गुरुवा सियाराम रानाका अनुसार चैत र वैशाख महिनामा गरी दुई पटक चराँई मनाउने परम्परा रहे पनि केही स्थानमा ‘भजनी चराँई’का रूपमा चिनिने तेस्रो चराँई पनि विशेष रूपमा मनाइन्छ।

त्यस्तै, जमिन्दार रामपति रानाले चैतकी चराँईसँगै होली पर्वको औपचारिक बिदाइसमेत गरिने जानकारी दिए। उनका अनुसार यो पर्वले पुराना संस्कारलाई निरन्तरता दिनुका साथै समुदायबीच एकता र सद्भाव पनि बढाउने काम गर्दछ।

परम्परा, प्रकृति र सामाजिक स्वास्थ्यको सन्देश बोकेको ‘चैतकी चराँई’ आज पनि रानाथारु समुदायको जीवनशैलीको अभिन्न अंगका रूपमा जीवित रहेको छ।

रानाथारु