



काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आगामी जेठको पहिलो साताबाट बचतकर्ताको बचत फिर्ता गर्ने कार्य सुरु गर्ने जनाएको छ।
मंगलबार आयोजित कार्यक्रममा समितिले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै माग दाबी गरेका बचतकर्तालाई प्राथमिकतामा राखी बचत फिर्ता प्रक्रिया अघि बढाइने जानकारी दिएको हो।
समितिका अनुसार, हालसम्म माग दाबी गर्न छुटेका बचतकर्तालाई आगामी साउनको पहिलो साताबाट पुनः आवेदन दिन समय खुला गरिनेछ।
कर्जा असुलीलाई प्रभावकारी बनाउन समितिले अब कानुनबमोजिम कडा नीति अवलम्बन गर्ने जनाएको छ। किस्ताबन्दीमा कर्जा भुक्तानी गर्न लिखित प्रतिबद्धता जनाउने ऋणीलाई निश्चित समय दिइनेछ भने अटेरी गर्ने ऋणीमाथि कडा कारबाही गरिने चेतावनी दिइएको छ।
त्यस्तै, कर्जा नतिर्ने ऋणीको तीनपुस्तेसम्मको विवरण सार्वजनिक गर्ने तथा परिवारका सदस्यलाई समेत कालोसूचीमा राख्ने तयारी गरिएको समितिले जनाएको छ।
हाल समस्याग्रस्त सहकारीमार्फत करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको पनि समितिले स्पष्ट पारेको छ।
सहकारी



