Logo
२४ वैशाख २०८३, बिहीबार

संविधान संशोधनमा बास्कोटाको सुझाव : केन्द्र र पालिका मात्रै राखौं

अक्षरपाटी
२०८३ वैशाख २४ , बिहीबार १०:०५ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना तथा जिल्ला समन्वय समिति (जिसस) खारेज गर्न सुझाव दिएका छन्।

सरकारले संविधान संशोधनको गृहकार्य गरिरहेका बेला उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत संघीय संरचनामा केन्द्र र पालिका मात्रै राख्न उपयुक्त हुने धारणा सार्वजनिक गरेका हुन्।

बास्कोटाले लेखेका छन्, ‘पहिला रास्वपाले संघीयता खारेजको कुरा गर्थ्यो, अब संविधान संशोधन गर्ने हो भने केन्द्र र पालिका मात्रै रहने व्यवस्था हुनुपर्छ।’

उनले राष्ट्रिय सभालाई १०५ सदस्यीय बनाउन तथा महिला–पुरुषको ५०–५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रस्ताव पनि गरेका छन्। साथै, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।

त्यस्तै, प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणाली हटाएर प्रत्यक्ष निर्वाचन प्रणालीलाई मात्रै कायम गर्नुपर्ने उनले बताएका छन्। प्रत्यक्ष निर्वाचनमा महिला–पुरुषको ४०–६० प्रतिशत प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने उनको भनाइ छ।

उनले भनेका छन्, ‘राष्ट्रिय सभा १०५ सिटको, पूर्ण समावेशी र महिला–पुरुष ५०–५० प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था होस्। उपराष्ट्रपति नै सभाध्यक्ष बनून्। प्रतिनिधिसभामा समानुपातिक सिट खारेज गरी प्रत्यक्ष प्रणाली लागू गरियोस्। जिसस आवश्यक छैन।’

गोकुलप्रसाद बास्कोटा नेकपा एमाले