



काठमाडौं । सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेपछि सांसद तथा महावीर पुनले सरकारलाई धन्यवाद दिएका छन् ।
लामो समयदेखि विज्ञान, अनुसन्धान र नवप्रवर्तनलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने आवाज उठाउँदै आएका पुनले मन्त्रालय गठनलाई सकारात्मक र ऐतिहासिक कदमको रूपमा टिप्पणी गरेका छन्।
म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका पुनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै सरकारको निर्णयप्रति खुसी व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘नेपाल सरकारलाई धेरै–धेरै धन्यवाद तथा दीर्घायुको कामना गर्दछु ।’
प्रधानमन्त्रीलाई बुझाएका थिए लिखित प्रस्ताव
सांसद पुनले गत वैशाख ८ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय गठन गर्न औपचारिक माग गरेका थिए ।
पत्रमा उनले नेपालमा विज्ञान र अनुसन्धानलाई प्राथमिकता नदिँदा देश आर्थिक तथा औद्योगिक रूपमा पछाडि परेको उल्लेख गरेका थिए । सामान्य उपभोग्य वस्तुसमेत विदेशबाट आयात गर्नुपर्ने अवस्था सिर्जना हुनुमा विज्ञान र प्रविधिमा लगानी अभाव प्रमुख कारण रहेको उनको भनाइ थियो ।
पुनले प्रतिभाशाली र सिर्जनशील युवाहरू विदेश पलायन भइरहेका कारण स्वदेशमा उद्यम, अनुसन्धान र रोजगारी सिर्जनामा असर परेको समेत उल्लेख गरेका थिए ।
उनले विगत ३३ वर्षदेखि नेपालमै बसेर सामाजिक तथा प्राविधिक क्षेत्रमा काम गर्दाको अनुभवका आधारमा छुट्टै र शक्तिशाली मन्त्रालय आवश्यक रहेको निष्कर्षसहित प्रस्ताव अघि सारेको बताएका छन् ।
वैज्ञानिक र अनुसन्धानकर्तालाई सहकार्यको आह्वान
मन्त्रालय गठनपछि पुनले अब यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । उनले वैज्ञानिक, अनुसन्धानकर्ता तथा नवप्रवर्तन क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई मन्त्रालयलाई परिणाममुखी बनाउन सामूहिक छलफल र सहकार्यमा आउन आग्रह गरेका छन् ।
महावीर पुन विज्ञान तथा नवप्रवर्तन मन्त्रालय



