Logo
२ जेठ २०८३, शनिबार

करिब डेढ करोड लगानीमा अत्तरियामा पैदल यात्रीका लागि आकाशे पुल

अक्षरपाटी
२०८३ जेठ २ , शनिबार ०४:०५ मा प्रकाशित

धनगढी। कैलालीको गोदावरी नगरपालिकामा पर्ने सुदूरपश्चिमकै मुख्य चोक अत्तरियामा पैदलयात्रीका लागि आकाशे पुल निर्माण प्रारम्भ भएको छ।

गोदावरी नगरपालिका १ मा निर्माण हुन लागेको यस पुलको कुल लागत मूल्य एक करोड ४२ लाख ८५ हजार रहेको छ।

नगर कार्यपालिकाको कार्यालय मार्फत अघि बढाइएको आयोजनाको निर्माण जिम्मा लिएको क्रीजल–त्रिनेत्र–सिद्धनाथ जेभी का इन्जिनियर मोहित चन्दले समय अवधिभित्र सम्पन्न गर्ने बताए।

यस आयोजनाले अत्तरिया चोकको ट्राफिक व्यवस्थापन चुस्त बनाउन र पैदलयात्रीको सुरक्षा सुनिश्चित गर्न निकै सहज हुने विश्वास गरिएको छ।

व्यापारिक केन्द्रका रूपमा विकास भइरहेको अत्तरिया चोकमा व्यवसायिक क्षेत्र र पैदलयात्रीको अत्यधिक चाप रहने गरेकाे छ।

यहाँ दिनप्रतिदिन बढ्दो सवारी साधनको चाप र पैदलयात्रीको असुरक्षालाई मध्यनजर गर्दै नगरपालिकाले आकाशे पुल निर्माणको योजना अघि बढाएको हो।

पुलले पूर्वाधार विकासमा टेवा थप्ने मात्र नभइ, अत्तरिया सहरलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने बताइएको छ।

निर्माण कम्पनी र नगरपालिकाबीच गत २०८२ साल फागुन १० गते सम्झौता भएको हो। सम्झौता अनुसार आगामी २०८३ साल पुस ३० गतेभित्र पुल निर्माण सम्पन्न भइसक्नुपर्नेछ।

अत्तरिया आकाशे पुल