



काठमाडौं। अबदेखि लामो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको लगेज (झोला) ट्याग प्रणाली लागू गरिने भएको छ।
यात्रुको सामान नहराओस, नसाटियोस र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित ट्याग प्रणाली लागू गर्न लागिएको हो।
यस सम्बन्धमा शुक्रबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच औपचारिक सम्झौता भएको छ।
सम्झौतापत्रमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी तथा राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा जेठ १५ गतेदेखि विशेष ट्याग लगाइने भएको छ।
यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिने बताइएको छ।
सार्वजनिक यातायात



