Logo
१६ साउन २०८३, शनिबार

गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

अक्षरपाटी
२०८३ साउन १६ , शनिबार ०७:०८ मा प्रकाशित

सिराहा। सिराहाको गोलबजार क्षेत्रमा साउन १४ गते भएको घटनामा ज्यान गुमाएका गणेश यादवका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ।

शुक्रबार औरही गाउँपालिका–२, मोतिपुरमा मृतकका अभिभावक र गृह मन्त्रालयबीच भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।

सहमतिअनुसार सरकारले मृतक गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट १० लाख राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

त्यसैगरी, साउन १४ गते गोलबजार बजार क्षेत्रमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने सहमतिमा उल्लेख छ।

सहमतिअनुसार मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइनेछ।

साथै, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू कानुनबमोजिम कार्यान्वयन गरिने सरकारको प्रतिबद्धता छ।

यस्तै, मृतकको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गरिने र पार्कभित्र मृतकको शालिक स्थापना गरिने सहमति भएको छ।

सहमतिमा मृतकको अन्त्येष्टि गर्ने, मृतकका श्रीमती र बहिनीलाई उपयुक्त रोजगारी उपलब्ध गराउन पहल गर्ने तथा मृतकका बुवाको उपचारका लागि आवश्यक पहल गर्ने विषय पनि समावेश गरिएको छ।