Logo
२८ असार २०८३, आईतबार

कान्तिपुर फिल्म एकेडेमीमा आजदेखि ‘महाभारत’

अक्षरपाटी
२०८३ जेठ १४ , बिहीबार ०८:०५ मा प्रकाशित

काठमाडाैं। ‘सेतो धरती’को मञ्चनपछि कान्तिपुर फिल्म एकेडेमीको नाटकघर कान्तिपुर थिएटरले आजदेखि अर्को नाटक ‘महाभारत’ मञ्चन सुरु गर्दैछ।

‘महाभारत’मा हास्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेल पहिलो पटक नाटकमा अभिनय गर्दैछन्। साथै अग्रज कलाकार तथा निर्देशक रमेश बुढाथोकी र सुवर्ण थापाको अभिनयले पनि नाटकलाई थप रोजक बनाउने अपेक्षा गरिएको छ।

सन्दीप श्रेष्ठ, प्रतिक चौधरी, सुपज्ञा शर्मा लगायत अन्य २० जना कलाकारहरू पनि ‘महाभारत’का लागि कान्तिपुर थिएटरको मञ्चमा देखिँदैछन्।

भारतीय प्रसिद्ध लेखक कुलदीप कुणालको नाटकलाई नवीन भट्टले नेपाली रूपान्तरण, डिजाइन तथा निर्देशन गरेका हुन्। नाटकको अनुवाद प्रकाश दाहालले गरेका हुन्।

सेट डिजाइन तुफान थापा, लाइट डिजाइन दीपेश गजुरेल, सङ्गीत संयोजन तथा गायन अनुप तिमिल्सिना, कोरियोग्राफी अनिष क्षेत्री र निर्माण रमेश पुरीले गरेका छन्।

आजदेखि असार ७ गतेसम्म हरेक दिन (बुधबार बाहेक) साँझ ५ः१५ बजे नाटक मञ्चन हुनेछ। सार्वजनिक बिदाको दिन अतिरिक्त शो दिउँसो १ः१५ बजे पनि हुनेछ।

नाटक कान्तिपुर थिएटर, गैह्रीधारामा मञ्चन हुनेछ। ५०० र १००० रुपैयाँ टिकट दर तोकिएको नाटक विद्यार्थीले सीमित कोटामा ३०० रुपैयाँमै हेर्न पाउनेछन्। कान्तिपुर थिएटरको वेबसाइट तथा सामाजिक सञ्जालमा दिइएको लिंकमार्फत दर्शकहरूले सजिलै अनलाइन टिकट बुक गर्न सक्नेछन्।

रेखा थापा, जीवन लुईंटेल, सनिशा भट्टराई, बेनिशा हमाल लगायत कलाकारहरूलाई स्टेज थिएटरमा डेब्यु गराइसकेको यस थिएटरले यसअघि ‘मीरा’, ‘शिरीषको फूल’, ‘महारानीको जात्रा’ र ‘सेतो धरती’ मञ्चन गरिसकेको छ।

महाभारत