Logo
१४ जेठ २०८३, बिहीबार

१५ जेठमा सबै भन्सार कार्यालय बन्द गर्ने विभागको सर्कुलर

अक्षरपाटी
२०८३ जेठ १४ , बिहीबार १२:०५ मा प्रकाशित

काठमाडौं । भन्सार विभागले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट सार्वजनिक हुने दिन १५ जेठ (शुक्रबार) सबै भन्सार कार्यालयहरू बन्द गर्न सर्कुलर जारी गरेको छ ।

विभागले सो दिन यात्रु जाँचपासबाहेक अन्य कुनै पनि मालवस्तुको भन्सार जाँचपास नगर्न सबै कार्यालयलाई निर्देशन दिएको हो । बजेट प्रस्तुतिपछि कर तथा महसुल दरमा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको विभागले जनाएको छ ।

विभागद्वारा जारी सर्कुलरमा भनिएको छ, ‘अर्थमन्त्रीज्यूबाट मिति २०८३-२-१५ मा आगामी आर्थिक वर्ष २०८३-८४ को वार्षिक आय–व्यय विवरण (बजेट) संघीय संसदमा प्रस्तुत हुने भएकाले सो दिन यात्रु जाँचपासबाहेक भन्सार जाँचपासको कार्य बन्द गर्नू ।’

त्यस्तै, १६ जेठदेखि भन्सार जाँचपास गर्दा आर्थिक विधेयक, २०८३ मार्फत भएका परिवर्तनहरू आसिकुडा प्रणालीमा अद्यावधिक भएरनभएको यकिन गरेर मात्र जाँचपास गर्न पनि निर्देशन दिइएको छ ।

विभागले १४ जेठसम्म दर्ता भएका प्रज्ञापनपत्र सोही मितिभित्र जाँचपास गरिसक्न पनि आग्रह गरेको छ । यदि प्रज्ञापनपत्र बाँकी रहेमा आर्थिक विधेयकअनुसार परिवर्तन भएको नयाँ दररेट लागू हुने उल्लेख गरिएको छ ।

साथै, १४ जेठ वा सोभन्दा अगाडि मूल प्रज्ञापनपत्रमार्फत घोषणा भएका तर जाँचपास हुन बाँकी वस्तुको महसुल दर परिवर्तन भएमा परिवर्तित दरअनुसार महसुल असुल गरेर मात्र पटके प्रज्ञापनपत्रबाट जाँचपास गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।

भन्सार विभाग