



धनगढी। डोटीको बोगटान–फुड्सिल गाउँपालिका अन्तर्गत चवराचौतारामा सञ्चालन गरिएको दुईदिने एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। शनिबारदेखि सुरु भएको शिविर आइतबार सम्पन्न भएको हो।
स्वास्थ्य निर्देशनालय राजपुर, डोटीको आयोजनामा सञ्चालन भएको शिविरमा बोगटान–फुड्सिल गाउँपालिका तथा चवराचौतारा समाज धनगढीले सहयोग तथा समन्वय गरेका थिए। शिविर सञ्चालनका लागि निसर्ग हस्पिटल, धनगढीले प्राविधिक सहयोग प्रदान गरेको थियो।
शिविरमा स्थानीय बासिन्दालाई विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरिएको थियो। साथै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ।

दुई दिनसम्म सञ्चालन भएको शिविरबाट करिब एक हजार स्थानीय नागरिक लाभान्वित भएको बताइएको छ। दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको शिविरप्रति स्थानीयले सकारात्मक प्रतिक्रिया दिएका छन्।
शिविरमा जनरल फिजिसियनद्धय डा. विष्णु खड्का र डा. रेहन प्रधान, मेडिकल अधिकृत डा. युवराज भट्ट, बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र, हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. बमबहादुर कुँवर, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. सन्तोष डी.सी., मानसिक तथा नसारोग विशेषज्ञ डा. साजन खड्का, मेडिकल अधिकृत डा. आदित्य सिंह तथा मनोपरामर्शदाता सुनिल चटौतलगायतको टोलीले सेवा प्रदान गरेको थियो।
चवराचौतारा समाजले हरेक वर्ष यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ। समाजका पदाधिकारीहरूले आगामी दिनमा पनि दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन्।
डोटी निःशुल्क स्वास्थ्य शिविर



