Logo
८ साउन २०८३, शुक्रबार

सांसद बब्लु गुप्ताको मोटरसाइकल स्टन्टपछि बहसः कानुन सबैका लागि समान कि विशेष छुट ?

अक्षरपाटी
२०८३ साउन ८ , शुक्रबार १२:०७ मा प्रकाशित

सिरहा । सिरहा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ता गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक नियमको समान कार्यान्वयनबारे व्यापक बहस सुरु भएको छ।

सांसद गुप्तासँग रहेका उनका साथीको टिकटक आइडीबाट पोस्ट गरिएको भिडियोमा उनी बागमती प्रदेश ०२–०२५ प ५२३१ नम्बरको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट पछाडि आइरहेका अन्य सवारीको भिडियो खिचिरहेको देखिन्छ। भिडियोमा ‘घुमघाम सांसद बब्लु दोस्त’ क्याप्सन तथा ‘साइड लाग, साइड लाग, हाम्रो पारा यस्तै हो’ भन्ने र्‍याप गीत प्रयोग गरिएको छ।

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ‘सर्वसाधारणले यस्तै गरे तत्काल जरिवाना हुन्छ, जनप्रतिनिधिलाई पनि उही कानुन लागू हुन्छ कि हुँदैन ? भन्ने प्रश्न उठेको छ।

ट्राफिक नियम उल्लङ्घन भएको प्रशासनको निष्कर्ष

जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाउनु स्पष्ट रूपमा ट्राफिक नियम उल्लङ्घन भएको बताएका छन्।

उनले सार्वजनिक पदमा रहेका व्यक्तिले अझ बढी जिम्मेवारीका साथ कानुनको पालना गर्दै समाजमा सकारात्मक उदाहरण प्रस्तुत गर्नुपर्ने उल्लेख गर्दै यस्तो गतिविधि कानुनी रूपमा उचित नभएको प्रतिक्रिया दिएका छन्।

यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख नवीन मरासिनीले घटनाबारे आवश्यक निर्देशनका लागि माथिल्लो निकायसँग समन्वय गर्नुपर्ने बताएका छन्।

अनुगमनका क्रममा खिचिएको भिडियो : सांसद गुप्ता

सांसद गुप्ताले भने उक्त भिडियो सिरहा–उदयपुर जोड्ने नेपालटार सीमा विवाद क्षेत्र तथा महादेवस्थानको अनुगमन गर्ने क्रममा खिचिएको बताएका छन्।

उनका अनुसार साथीहरूले सम्झनाका लागि भिडियो खिचेका थिए र नबुझी सामाजिक सञ्जालमा पोस्ट गरेका हुन्। गाउँ क्षेत्रमा यस्ता सम्झनाका भिडियो बनाउने चलन भएकाले सामान्य रूपमा लिएको उनले बताएका छन्।

सामाजिक सञ्जालमार्फत क्षमायाचना

घटनापछि सांसद गुप्ताले फेसबुकमार्फत सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्।

उनले लेखेका छन्, ‘पुराना सम्झनाहरू ताजा हुँदा रमाइलोको क्रममा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा ट्राफिक नियम उल्लङ्घन भएको रहेछ भन्ने कुरा मैले महसुस गरेको छु। अब यही जोश र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा चाहन्छु।’

यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा ट्राफिक प्रहरीले रु. ५०० जरिवाना तिराएको थियो। त्यसैगरी हर्क साम्पाङलाई पनि ट्राफिक नियम उल्लङ्घनको आरोपमा कारबाही गरिएको उदाहरण रहेको छ।

बब्लु गुप्ता सांसद सिरहा