


काठमाडौं । मोइन अलीको उत्कृष्ट ब्याटिङ र राहुल यादवको घातक बलिङप्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ। बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो।
काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो। जनकपुरको जितमा मोइन अलीले अविजित ५८ रन बनाए भने सैफ हसनले ४० रनको योगदान दिए।
ओपनर तृतराज दास ५ रनमा र मयन यादव ९ रनमा आउट भएपछि जनकपुर दबाबमा परेको थियो। तर, मोइन र सैफले सम्हालिएर ब्याटिङ गर्दै तेस्रो विकेटका लागि अविजित ७९ रनको साझेदारी गरे। यही साझेदारीले जनकपुरलाई सहज जित दिलायो।
मोइनले ५१ बलमा ३ चौका र ३ छक्कासहित ५८ रन बनाए। सैफले ३९ बलमा ४० रन जोड्दै उनलाई साथ दिए। काठमाडौंका रिपोन मोन्डलले एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाज १९ ओभर ३ बलमा ११५ रनमै अलआउट भएको थियो।
काठमाडौंलाई कम स्कोरमा रोक्न जनकपुरका राहुल यादवले प्रभावशाली बलिङ गरे। उनले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए। राहुलले काठमाडौंका दुवै ओपनर साम हिजलेट र स्मित पटेलसँगै कप्तान करण केसी तथा आदिल आलमलाई आउट गरे।
सैफ हसनले २ विकेट लिए भने मोइन अली, कप्तान हरमीत सिंह र ललित राजवंशीले समान एक विकेट हात पारे।
काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलमा ४ चौका प्रहार गरे। रसिद खानले १७, स्मित पटेलले १३, हरिशंकर शाह र सुमित महर्जनले समान ९ भन्दा बढी रनको योगदान दिन नसक्दा काठमाडौं ठूलो योगफल बनाउन असफल भयो। कप्तान करण केसीले ८ र जहानदाद खानले ५ रन बनाए। आदिल आलम पहिलो बलमै आउट भए। रिपोन मोन्डलले ९ रन बनाउँदा शाहब आलम ४ रनमा अविजित रहे।
खेलमा काठमाडौंले नियमित अन्तरालमा विकेट गुमाउँदा कुनै पनि ठूलो साझेदारी बनाउन सकेन। जनकपुरका बलरले सुरुदेखि नै दबाब कायम राखेपछि काठमाडौं सामान्य योगफलमा समेटिएको थियो।
पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमै जित निकाल्दै प्रतियोगितामा पुनरागमन गरेको छ।
एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्स आमनेसामने हुँदैछन्।
एनपीएल सिजन–३ नेपाल प्रिमियर लिग

