Logo
२१ साउन २०८३, बिहीबार

अब होटल र रेष्टुरेन्टमा पनि जथाभावी धुम्रपान गर्न नपाइने

अक्षरपाटी
२०८३ साउन २१ , बिहीबार १०:०८ मा प्रकाशित

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले होटल तथा रेष्टुरेन्टहरूका लागि कडा सूचना जारी गरेको छ। काठमाडाैं जिल्लाभित्र सञ्चालित होटेल तथा रेष्टुरेन्टले अब धुम्रपानसम्बन्धी कानूनी व्यवस्था कडाइका साथ पालना गर्नुपर्नेछ। अन्यथा कानुन अनुसार कडा कारबाही र उच्च जरिवानाकाे भागिदार हुनुपर्ने भएको छ।

प्रशासनले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार होटल तथा रेष्टुरेन्टहरूमा अव्यवस्थित रूपमा हुक्का, चुरोटलगायतका सुर्तीजन्य पदार्थको सेवन हुने गरेको र त्यसले धुम्रपान नगर्ने अन्य व्यक्तिहरूको स्वास्थ्यमा प्रतिकूल असर पारेको गुनासो बढेपछि यस्तो कदम चालिएको हो।

प्रचलित कानूनको पालना नभएको गुनासो आएपछि सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिइएको हो।

जारी सूचनाअनुसार अब जिल्लाभित्रका सबै होटल तथा रेष्टुरेन्टहरूले धुम्रपान गर्न मिल्ने र नमिल्ने ठाउँहरु स्पष्ट रूपमा देखिने गरी तोकिनुपर्ने छ। धुम्रपान गर्न मिल्ने भनि तोकिएको स्थान चारैतिरबाट बन्द भएको र त्यसको धुवाँ तथा असर अन्य व्यक्तिहरूमा नपर्ने गरी बनाइएको हुनेपर्ने सूचनामा जनाइएको छ।

यदि जिल्ला प्रशासन कार्यालय वा तोकिएका अन्य निकायबाट हुने अनुगमनका क्रममा ऐन विपरीत कार्य गरिएको पाइएमा कानूनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचनामार्फत सम्पूर्ण होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूलाई कानूनी प्रावधानहरूको पूर्ण पालना गर्न जोडदार आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँ धुम्रपान