Logo
२१ साउन २०८३, बिहीबार

गृहमन्त्री गुरुङले भने : बारम्बार त्यहि विषय नसम्झाइदिनुस्

अक्षरपाटी
२०८३ साउन २१ , बिहीबार ०३:०८ मा प्रकाशित


काठमाडौँ, २१ साउन। गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको बताएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूका जिज्ञासाको जवाफ दिँदै उनले देशमा शान्तिसुरक्षा कायम राख्न गृहमन्त्रालय क्रियाशील रहेको बताएका हुन्।

गृहमन्त्री गुरुङले संवेदनशील विषयमा प्रश्न उठाउँदा सांसदहरू पनि संवेदनशील हुनुपर्नेमा जोड दिए।

‘माननीयज्यूहरूले उठाउनुभएका विषय निकै संवेदनशील छन्। कुनै व्यक्तिको परिवारको सदस्यको निधन हुँदा र त्यस विषयलाई बारम्बार सम्झाइरहँदा पीडित परिवारलाई शान्ति मिल्छ ?’, उनले सांसदहरूलाई नै प्रश्न गरे।

गृहमन्त्री गुरुङले उक्त विषयमा अनुसन्धान जारी रहेकाले त्यसमा टिप्पणी गर्न उपयुक्त नहुने बताए।

‘यस विषयमा सूक्ष्म रूपमा अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण माननीयज्यूहरूलाई यो विषय बारम्बार उठान नगर्न अनुरोध गर्दछु।’

यद्यपि उनले यस्ता विषयमा व्यक्तिगत रूपमा पनि आफूलाई सोध्न सकिने बताए।

गृहमन्त्री गुरुङले निर्मला पन्त प्रकरणबारे टिप्पणी गर्न नचाहेको पनि बताए।

सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीको अभिव्यक्तिबाट आफ्नो विधायकीय अधिकार हनन् भएको महसुस गरेको बताउँदै प्रश्न गर्ने सांसद र त्यसको उत्तर दिने मन्त्रीको अधिकार संसदीय अभ्यासको स्वाभाविक प्रक्रिया भएको स्मरण गराए।

फरक प्रसङ्गमा गृहमन्त्री गुरुङले मानसिक स्वास्थ्यका विषयमा सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय आवश्यक भएको बताए।

‘हाम्रो देशले धेरै उतारचढाव बेहोरेको छ। त्यसैले तीनै तहका सरकार मिलेर मानसिक स्वास्थ्यसम्बन्धी योजना बनाइरहेका छौँ,’ उनले भने, ‘११६६ हेल्पलाइनमार्फत आत्महत्या रोकथामका लागि प्रयास भइरहेको छ।’

गृहमन्त्री सुधन गुरुङ