Logo
२८ साउन २०८३, बिहीबार

नाइमा मोबिलिटी एक्स्पोमा बढ्दो आकर्षण, तेस्रो दिन पनि आगन्तुकको धुइँचाे

अक्षरपाटी
२०८३ साउन २८ , बिहीबार १०:०८ मा प्रकाशित

काठमाडौं २८ साउन। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)द्वारा आयोजित ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा आगन्तुकको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ। तेस्रो दिन बिहीबार पनि बिहानैदेखि भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा दर्शकको बाक्लो उपस्थिति देखिएको छ।

आयोजकका अनुसार बुधबार ३० हजारभन्दा बढीले अवलोकन गरेको एक्स्पोमा उद्घाटनको दिन मंगलबार मात्रै करिब २९ हजार जनाले अवलोकन गरेका थिए। आगन्तुकले विभिन्न ब्रान्डका सवारीसाधन, नयाँ प्रविधि र मोबिलिटी समाधानबारे रुचीपूर्वक जानकारी लिने गरेका छन्। आयोजकले आगन्तुकको संख्या दैनिक रूपमा बढिरहेको जनाएको छ।

काभ्रेबाट एक्स्पो अवलोकन गर्न आएका गणेश श्रेष्ठले एउटै स्थानमा विभिन्न ब्रान्ड र मोडेलका सवारीसाधनबारे जानकारी लिन पाउँदा सहज भएको बताए। ‘अटोमोबाइल अब केवल रहरको विषय मात्र नभई दैनिक आवश्यकताको साधन बनिसकेको छ। एक्स्पोले धेरै विकल्पबारे एकै ठाउँमा बुझ्ने अवसर दिएको छ,’ उनले अक्षरपाटीसँग भने।

नेपाल प्रहरी क्लबस्थित ब्लु पेभिलियन अडिटोरियम हलमा विशेष समारोहबीच उद्घाटन गरिएको एक्स्पोमा नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले यसलाई सवारीसाधनको किनबेचको थलो मात्र नभई सम्पूर्ण मोबिलिटी इकोसिस्टमलाई जोड्ने साझा मञ्चका रूपमा व्याख्या गरेकी थिइन्।

उद्घाटन समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले व्यवसायीलाई बिक्रीपछिको सेवामा ध्यान दिन र सामाजिक उत्तरदायित्व वहन गर्न आग्रह गरेका थिए। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई केवल राजस्व संकलनको स्रोतका रूपमा मात्र नहेरी आवश्यकताको क्षेत्रका रूपमा लिनुपर्ने आग्रह गरेका थिए।

त्यस्तै, नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले अटोमोबाइल क्षेत्र मुलुकको अर्थतन्त्र र राजस्वमा महत्वपूर्ण योगदान दिने क्षेत्र भएकाले सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए।

विद्युतीय सवारीसाधन, नयाँ प्रविधि तथा दिगो यातायात समाधानप्रति बढ्दो चासोका कारण नाइमा मोबिलिटी एक्स्पो २०२६ सर्वसाधारण, व्यवसायी तथा अटोप्रेमीका लागि विशेष आकर्षणको केन्द्र बनेको छ।

नाइमा मोबिलिटी एक्स्पो