


काठमाडौं। रसुवाको भोटेकोशीमा आएको महाविनाशकारी बाढीबाट भएको जनधनको क्षतिलगत्तै भारतले नेपालका बाढीपीडितका लागि राहत तथा उद्धार सामग्री पठाएको छ।
भारतबाट राहत सामग्री बोकेर उडेको भारतीय सेनाको स्काई ट्रक विमान बुधबार राति १०:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले जनाएको छ।
बाढीबाट प्रभावित नागरिकका लागि आवश्यक राहत तथा उद्धार सामग्रीमा सहयोग पुगोस भनेर भारतले उक्त सहयोग पठाएको हो। विपद्को समयमा आवश्यक सामग्री छिटो प्रभावित क्षेत्रमा पुर्याउन यस सहयोगले थप सहजता पुग्ने अपेक्षा गरिएको मन्त्रालयले गरेको छ।
राहत सामग्री बोकेको विमान काठमाडौं आइपुगेपछि सामग्रीको भन्सार प्रक्रिया छिटो सम्पन्न गरी प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको छ। राहत सामग्रीको भन्सार पास प्रक्रिया सरल र सहज बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारी तथा सम्बन्धित निकाय परिचालन गरिएको जनाइएको छ।
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका क्षेत्र प्रभावित भएका छन्। बाढीका कारण ठूलो मानवीय क्षतिसँगै सडक, पुल, विद्युत् तथा अन्य पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ।
यसअघि नै नेपाल सरकार, सुरक्षा निकाय तथा विभिन्न संघसंस्था उद्धार र राहतमा परिचालित भइरहेका बेला भारतबाट प्राप्त हुने राहत सामग्रीले प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
सरकारले अहिले बेपत्ताको खोजी, घाइतेको उद्धार तथा उपचार, प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण र राहत वितरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।
फाइल तस्विर
भारतीय सैन्य विमान राहत सामग्री

